Techie IT
KTM Post
मंगलबार, २९ वैशाख, २०८३

प्रेमिकाको शरीरमा प्रेमीले बनाइदिए २५० ट्याटू, अन्तिममा ब्रेकअप


नेदरल्यान्ड्सकी जोक नामकी महिलाको शरीरको ९० प्रतिशत भागमा पूर्वप्रेमीले जबरजस्ती २५० वटा ट्याटू बनाएका थिए।
पूर्वप्रेमीले मानसिक र शारीरिक हिंसा गर्दै ट्याटूहरू बनाएको र पीडितले प्रहरीमा उजुरी दिएको भए पनि कानुनी प्रमाणित गर्न कठिन भएको छ।
कुनै मान्छे आफ्नो पार्टनरप्रति कति हदसम्म क्रूर तथा अमानवीय हुन्छ र अधिकार जमाउन खोज्छ भन्ने कुरा नेदरल्यान्ड्सकी एक महिलाको कथाले देखाएको छ ।

जोक नामकी ती महिलाको शरीरको झण्डै ९० प्रतिशत भागमा उनका पूर्वप्रेमीले जबरजस्ती २५० वटा ट्याटू बनाइदिएका थिए । त्यस्ता ट्याटूहरू महिलाको अनुहार, घाँटी, छाती र संवेदनशील अंगहरूमा समेत बनाइएका थिए । त्यसमा धेरैजसो ती प्रेमीको नाम वा नामको अक्षर कुँदिएको थियो ।

जोकका अनुसार प्रेम सम्बन्धमा रहेको बेला उनी लामो समयसम्म मानसिक र शारीरिक हिंसाको शिकार भइन् । उनका पूर्वप्रेमीले सस्तो ट्याटू मेसिन प्रयोग गरेर प्रेमीको नाम अनि नामको अक्षरका ट्याटू बारम्बार महिलाको शरीरमा कुँदेका थिए । यस प्रक्रियामा प्रेमीले उनलाई धाकम्की तथा दबाब दिएका थिए ।

जोकलाई उनका पूर्वप्रेमीले लगातार धम्क्याउने, डर देखाउने र नियन्त्रणमा राख्ने गर्थे। समयसँगै उनी मानसिक रूपमा यति कमजोर भइन् कि उनले आफूलाई मदिरा र लागुऔषधको नशामा डुबाइन् । त्यस अवस्थामा उनी आफ्ना लागि आवाज उठाउनसमेत असमर्थ भइन् ।

यो घटनालाई केवल ट्याटू बनाएको घटना मात्र नभई व्यक्तिमाथि स्वामित्व जमाउने प्रयासको रूपमा लिइएको छ । नेदरल्याण्डस्थित ट्याटू रिग्रेट नामक संस्थासँग आबद्ध एन्डी हानका अनुसार ट्याटूहरू ती महिलाको शरीरका त्यस्ता भागहरूमा समेत बनाइएका थिए जहाँ अरू कसैले छोएको हुनसक्ने शंका ती पुरुषलाई थियो । जसले गर्दा घटनालाई अझ गम्भीर बनाएको छ ।

पीडितले प्रहरीमा उजुरी दिए पनि कानुनी रूपमा घटना प्रमाणित गर्न कठिन भएको बताइएको छ । आरोपीले ती ट्याटूहरू सहमतिमै बनाइएको दाबी गरेका छन् । यसले अनुसन्धान प्रक्रियालाई जटिल बनाएको छ ।

यो दर्दनाक अवस्थाबीच ट्याटू रिग्रेट नामक संस्था जोकका लागि आशाको किरण बनेको छ । संस्थाले सहयोग अभियान चलाएर ३५ हजार डलरभन्दा बढी रकम संकलन गर्‍यो । अहिले जोकको उपचार भइरहेको छ र बिस्तारै उनको शरीरबाट ट्याटू हटाइँदै छन् ।

अनुहारका धेरैजसो दाग मेटिइसकेका छन् र उनी आफ्नो हराएको पहिचान पुनः फर्काउने प्रयासमा छिन् । उनले आफूजस्तै पीडितहरूलाई हिम्मत नहार्न आग्रह गर्दै गम्भीर आघातपछि पनि नयाँ सुरुवात सम्भव रहेको सन्देश दिएकी छिन्।


क्याटेगोरी : विचित्रको संसार, समाचार

प्रतिक्रिया


ताजा अपडेट