Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

याे वर्ष अधिकांश स्थानमा सरदरभन्दा कम पानी पर्ने, गर्मी बढ्ने


काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यो वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण गरेको छ । आज यो वर्षको मनसुन आंकलन सार्वजनिक गर्दै विभागले गत वर्षहरु भन्दा याे वर्ष देशका विभिन्न क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको हो ।

यो वर्ष अधिकतम तथा न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढी रहने सम्भावना रहेको विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गर्मी बढी हुने सम्भावना देखिएको छ ।

आज ललितपुरमा एक कार्यक्रम आयोजना गरी यस वर्षको मनसुनको सम्भावित अवस्थाबारे जानकारी दिएको हो । कार्यक्रममा मौसमविद सुदर्शन हुमागाईंले दिएको जानकारी अनुसार देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना छ । यद्यपि यो विभिन्न भेगमा फरक–फरक छ ।

कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, मधेश प्रदेशका पूर्वी भूभाग र कोशी प्रदेशका दक्षिण भूभागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको विभागको प्रक्षेपण छ ।

कर्णाली प्रदेशका उत्तरी भूभाग तथा कोशी प्रदेशका उत्तरी भूभागमा भने सरदर वर्षा हुने सम्भावना छ ।

यसैगरी सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, मधेश प्रदेशका पश्चिमी भूभाग र कोशी प्रदेशका मध्य भूभागमा भने सरदर भन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ ।

यसैगरी मनसुन अवधिमा अधिकतम र न्यूनतम तापक्रम देशभर सरदर भन्दा बढी हुने सम्भावना ३५ देखि ६५ प्रतिशतसम्म रहेको मौसमविद हुमागाइँले जानकारी दिए ।

यो प्रक्षेपण आगामी १८ जेठदेखि १४ असोजसम्म अवधिको हो ।

 

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट