Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

यूएईमा मृत्यु भएका नेपाली श्रमिकका परिवार अझै क्षतिपूर्ति र बीमाबाट वञ्चित


काठमाडौं । वैदेशिक रोजगारीका क्रममा यूएईमा ज्यान गुमाएका तथा गम्भीर दुर्घटनामा परेका सयौं नेपाली श्रमिकका परिवारले अझैसम्म क्षतिपूर्ति र बीमा रकम नपाएको गुनासो बढ्दै गएको छ। पीडित परिवारले पाउनुपर्ने राहत रकम उपलब्ध गराउन सम्बन्धित निकायले प्रभावकारी पहल नगरेको आरोप लागेको हो।

यूएईस्थित नेपालीहरूको संस्था ‘नेपाली समाज यूएई’ले नेपाल सरकारको ध्यानाकर्षण गराउँदै पीडित परिवारलाई कानुनी रूपमा प्राप्त हुने रकम तत्काल उपलब्ध गराउन आग्रह गरेको छ। संस्थाका अध्यक्ष राम मोक्तान, पार्षद अध्यक्ष कमल गिरी र महासचिव जीवन पंगेनीले संयुक्त रूपमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन), परराष्ट्रमन्त्री शिशिर खनाल तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवलाई पत्र पठाएका हुन्।

अबुधाबीस्थित नेपाली दूतावासमार्फत पठाइएको उक्त पत्रमा विगत पाँचदेखि सात वर्षयता विभिन्न दुर्घटना, कार्यस्थलका घटना र सडक दुर्घटनामा मृत्यु भएका वा अंगभंग भएका नेपाली श्रमिकका परिवार अझै न्यायबाट वञ्चित रहेको उल्लेख गरिएको छ।

पत्रमा झापाका ख्यामराज प्रधान, पाल्पाका भोजबहादुर सारु, काभ्रेका लक्ष्युराम तामाङ, रोल्पाका रामबहादुर ओली तथा स्याङ्जाका दिपेश रेग्मी क्षेत्रीका परिवारले अदालतको फैसला भइसकेपछि पनि क्षतिपूर्ति रकम नपाएको उदाहरण प्रस्तुत गरिएको छ। संस्थाका अनुसार यी केही प्रतिनिधिमूलक घटना मात्रै हुन्, यस्ता सयौं मुद्दा अझै अलपत्र अवस्थामा छन्।

नेपाली समाज यूएईका अध्यक्ष मोक्तानले यूएईका अदालतले फैसला गरिसकेका र बीमा कम्पनीले भुक्तानी गर्नुपर्ने धेरै घटनामा आवश्यक कूटनीतिक पहल र समन्वयको अभाव हुँदा पीडित परिवारले राहत पाउन नसकेको बताए। उनले अदालतमा विचाराधीन मुद्दाको प्रक्रिया तीव्र बनाउन र फैसला कार्यान्वयनका लागि नेपाल सरकार, दूतावास तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको धारणा राखे।

उनका अनुसार कतिपय अवस्थामा तोकिएको समयभित्र बीमा दाबी प्रक्रिया अघि नबढाउँदा श्रमिकका परिवार क्षतिपूर्ति पाउनबाट समेत वञ्चित हुने गरेका छन्। दूतावासका कर्मचारीको कार्यशैलीप्रति यसअघि पनि विभिन्न गुनासा सार्वजनिक हुँदै आएका छन्।

केही महिनाअघि कानुनी समस्यामा परेर जेलमा रहेका काठमाडौं मूलपानीका एक नेपाली श्रमिकलाई सहयोग माग्न पुगेका परिवारका सदस्यलाई दूतावासका स्थानीय कर्मचारीले दुर्व्यवहार गरेको आरोपसमेत लागेको थियो।

यूएईमा सक्रिय ६६ वटा नेपाली संघसंस्थाको समर्थनमा पठाइएको उक्त पत्रमा श्रमिकका परिवारलाई न्याय र आर्थिक सुरक्षा दिलाउन ढिलाइ गर्न नहुने उल्लेख गरिएको छ। सन् १९९० मा स्थापना भएको नेपाली समाज यूएई हाल यूएईमा रहेका नेपाली समुदायको पुरानो सामाजिक संस्थामध्ये एक मानिन्छ। अहिले यूएईमा सात लाखभन्दा बढी नेपाली श्रमिक विभिन्न क्षेत्रमा कार्यरत छन्।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट