राजनीतिमा बाबुराम थप शक्तिहीन बन्दै
काठमाडौं । कुनै बेला डा.बाबुराम भट्टराई विद्धान र आशालाग्दा नेताको रुपमा राजनीतिक आकाशमा परिचित थिए । तर अहिले भने अवस्था फेरिएको छ, उनी कमजोर र निरीह नेताको रुपमा सीमित हुन थालेका छन् । भट्टराई राजनीतिक रुपमा मात्रै कमजोर बनेका छैनन्, वैचारिक रुपमा पनि खस्किँदै गएका छन् । राजनीति सधैँ बक्र रेखामा घुम्छ भन्ने भनाइ भट्टराईको जीवनसँग मेल खान्छ । प्रधानमन्त्री भएर देशको बागडोर सम्हालेका भट्टराई अहिले पार्टीविहीन छन् । माओवादीले सुरु गरेको ‘जनयुद्ध’का सूत्रधार समेत रहेका भट्टराई पछिल्लो समय घाइते बाघजस्तै बनेका छन् । पढाइमा अब्बल उनी राजनीतिमा भने कमजोर हुन पुगेका छन् । नेपाली जनताले ठूलो आशा र भरोसा गरेका नेतामध्ये एक भट्टराई पनि हुन् ।
माओवादीले गरेको ‘जनयुद्ध’ होस् कि शान्ति प्रक्रियामा आएपछि होस्, निकै लोकप्रिय नेता थिए, भट्टराई । माओवादी नेता कार्यकर्ता मात्र होइन, आमजनताले पनि आडभरोसा र विश्वास गरेका नेतामा पर्थे । अन्य राजनीतिक दल र जनताले उनको खुलेर प्रशंसा गर्थे । उनको बौद्धिकताको चर्चा गर्न कसैले पनि कञ्जुस्याइँ गर्दैनथे ।
माओवादी शान्ति प्रक्रियामा आएपछि डा.भट्टराईको छवि भिजन भएको नेतामा थियो । देशका लागि केही गर्छन् भन्ने आशा सबैमा थियो । उनी २०६५ सालमा अर्थमन्त्री बनेपछि थप आशा जगाएका थिए । तर, अर्थमन्त्रीपछि प्रधानमन्त्री बने उनी । प्रधानमन्त्री बन्दा धेरै उत्साह जगाउन पनि सकेनन्, निराश पनि पारेनन् ।
डा.भट्टराई दशवर्षे ‘जनयुद्ध’मा आफ्नो लाइनमा सफल भएका हुन् । उनले माओवादी ‘जनयुद्ध’लाई शान्तिमा अवतरण आफूले गराएको दाबी पनि गर्दै आएका छन्, जसलाई उनले नै सफलता मान्दै आएका छन् । तर, उनले २०७२ सालदेखि सुरु गरेको दशवर्षे फरक राजनीतिमा उनी कति सफल र कति असफल भए, त्यसको लेखाजोखा गर्न सकिन्छ । २०७२ मा नेपालमा संविधान जारी भएपछि बाबुराम वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानमा लागे ।
उनले नयाँ शक्ति नामको राजनीतिक दल पनि स्थापना गरे । तर नयाँ शक्तिले जनताको मन जित्नु त परको कुरा, स्थापना भएको केही समयमै पतन भयो । त्यसपछि उनी राजनीतिमा सधैँ भौंतारिँदै रहे । अहिले मधेशी दलसँग पार्टी एकता गरे भने कांग्रेस लगायतका दलहरुसँग चुनावी सहकार्य गरे । जे जति प्रयास गरे पनि राजनीतिमा बाबुराम उदाउन सकेनन् ।
२०८२ फागुन २१ मा भएको निर्वाचनमा बाबुराम निर्वाचन लड्न चाहन्थे । तर उनले अन्तिम समयमा आएर उम्मेदवारी फिर्ता लिँदै नेपाली कांग्रेसलाई समर्थन गरेका थिए । पछिल्लो समय बाबुराम प्रगतिशील लोकतान्त्रिक पार्टीको संरक्षकका रुपमा काम गर्दै आएका थिए । तर शुक्रबार उनले प्रलोपाबाट पनि अलग भएको घोषणा गरेका छन् । जीवनको उत्तरार्धमा पुगेका उनी अहिले पार्टीविहीन भएका छन् । अब राजनीतिक जीवनबाट विश्राम लिन्छन् वा फेरि अर्को असफल प्रयास गर्छन्, अहिले नै भन्न सकिने अवस्था छैन ।
क्याटेगोरी : राजनीति, समाचार










प्रतिक्रिया