‘सुपर घलेम्दी’ जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु
म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नौ दशमलव १४ मेगावाट क्षमताको ‘सुपर घलेम्दी’ जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु भएको छ ।
सुपर घलेम्दी हाइड्रोपावर प्रालि प्रवद्र्धक रहेको आयोजनाले नारच्याङको घलेम्दी र रेलेखोलाको दोभानदेखि अन्नपूर्ण हिमालको फेदीमा प्रस्तावित बाँधस्थल जोड्ने पहुँचमार्ग निर्माण थालेको हो ।
आयोजनाका आवासीय इन्जिनियर प्रकाश भट्टराईले पाँच किलोमिटर ५०० मिटरमध्ये दुई किलोमिटर पहुँचमार्ग निर्माण सकिएको र कर्मचारी आवासका लागि भवन तयार भएको जानकारी दिए ।
“विद्युत्गृह निर्माण स्थलमा सडक पु¥याएर जमिन तयार पार्न पहाड काट्न थालेका छौँ,” उनले भने, “पहुँचमार्ग खनेपछि बाँध, विद्युत्गृह र पेनस्टक पाइपलाइन जडान तथा प्रसारण लाइन निर्माणलाई समानान्तर गतिमा अघि बढाउने तयारीमा छौँ ।”
१ अर्ब ८० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजना आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । बाँधदेखि चार किलोमिटर २०० मिटर दूरीमा पाइपलाइनबाट ल्याइने पानीलाई ४२० मिटर उचाइबाट विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिने आवासीय इन्जिनियर भट्टराईले बताए।
आयोजना निर्माणमा उपभोग हुने जग्गा सबै सार्वजनिक हो । निर्माण स्थलमा पर्ने एक हजार ४०० मध्ये ५४६ रूख कटानको आदेश प्राप्त भइसकेको छ भने बाँकी प्रक्रियामा रहेको छ ।
ग्लोबल आइएमई र माछापुच्छे बैङ्क लिमिटेडसँग वित्तीय स्रोत व्यवस्थापनका लागि प्रस्ताव गरिएको आयोजनाले जनाएको छ । कुल लागतको ७० प्रतिशत बैङ्क र ३० प्रतिशत स्वपुँजी रहनेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १० प्रतिशत सेयर लगानीको अवसर दिइने भएको छ ।
नारच्याङ भएर बग्ने नदीहरुमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एक वटा आयोजना निर्माणाधीन र १७३ दशमलव १४ मेगावाटका दुई वटा आयोजना निर्माणको प्रक्रियामा छन् ।
वडाअध्यक्ष लोकबहादुुर पुनका अनुुसार पाँच मेगावाट क्षमताको घलेम्दीखोला, ४२ मेगावाट क्षमताको म्रिस्तीखोला, ३८ मेगावाट क्षमताको नीलगिरि–१, ७१ मेगावाट क्षमताको नीलगिरि–२ र छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना निर्माण सञ्चालनमा आइसकेका छन् ।
नारच्याङको सिमाना भएर बग्ने कालीगण्डकीमा ६६ दशमलव तीन मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युुत् आयोजना निर्माणाधीन छ । कालीगण्डकी हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको १८४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना पनि निर्माणको तयारी भएको छ ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया