बजेटको सिद्धान्त र प्राथमिकता बिहीबार संसदमा प्रस्तुत हुने
काठमाडौं । आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त तथा प्राथमिकता बिहीबार बस्ने संसद बैठकमा प्रस्तुत गरिने भएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मंगलबार अर्थ समितिको बैठकमा उक्त जानकारी दिएका हुन्। उनले सिद्धान्त तथा प्राथमिकतामाथि सांसदहरूले दिने सुझावलाई बजेट निर्माण प्रक्रियामा समेटिने बताए।
उनका अनुसार सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टीको बाचापत्रसँग धेरै हदसम्म मेल खाने खालको रहेको छ। साथै, बजेटका लागि सांसदहरूबाट माग आउने क्रम अझै जारी रहेको पनि उनले उल्लेख गरे।
नयाँ सरकार गठनअघि नै बजेटको सिलिङ पठाइसकिएकाले अहिले खर्च व्यवस्थापनका लागि ‘स्पेस’ सीमित रहेको अर्थमन्त्री वाग्लेले बताए।
प्रचलित कानुनी व्यवस्था अनुसार सरकारले बजेट सार्वजनिक गर्नुभन्दा कम्तीमा १५ दिनअघि बजेटको सिद्धान्त तथा प्राथमिकता संसदमा प्रस्तुत गर्नुपर्ने प्रावधान रहेको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया