१० महिनामै ६ लाख ६१ हजार युवा वैदेशिक रोजगारीमा, बैशाखमा सबैभन्दा धेरै बाहिरिए
काठमाडौं । देशभित्र पर्याप्त रोजगारीका अवसर अभाव हुँदा चालु आर्थिक वर्षको १० महिनामै ६ लाख ६१ हजारभन्दा बढी युवा वैदेशिक रोजगारीका लागि विदेशिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार साउनदेखि बैशाखसम्म ६ लाख ६१ हजार ७ सय ६९ जनाले श्रम स्वीकृति लिएका हुन्।
यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १४ हजारले कम भए पनि विदेशिने क्रम भने उच्च नै रहेको देखिएको छ। गत आवको यही अवधिमा ६ लाख ८५ हजार ९ सय २४ जनाले श्रम स्वीकृति लिएका थिए।
विभागका तथ्यांकअनुसार विदेशिने मध्ये ५ लाख ८२ हजार ९ सय ४६ जना पुरुष र ७८ हजार ८ सय २३ जना महिला रहेका छन्।
सरकारले केही समय खाडी मुलुकतर्फ जाने कामदारको श्रम स्वीकृति रोक्दा पनि वैदेशिक रोजगारीप्रतिको आकर्षण घट्न सकेको छैन।
प्रतिनिधिसभा निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको केही समयपछि भने विदेशिने संख्या अझ बढेको देखिएको छ। शाहले २०८२ चैत १३ गते प्रधानमन्त्रीको सपथ लिएपछि बैशाख महिनामा मात्रै सबैभन्दा धेरै ७४ हजार ४ सय २९ जना युवा रोजगारीका लागि विदेशिएका छन्।
विभागका अनुसार चालु आवमा म्यानपावर कम्पनीमार्फत नयाँ श्रम स्वीकृति लिएर जानेको संख्या २ लाख २३ हजार २ सय १५ रहेको छ। यस्तै, बिदामा नेपाल आएर पुनः रोजगारीका लागि फर्किनेको संख्या ३ लाख २६ हजार ३ सय ६४ पुगेको छ।
कुन महिना कति बाहिरिए
महिना संख्या
साउन ६८११०
भदौ ६७९७२
असोज ६४६३४
कात्तिक ७३०९४
मंसिर ६५७०५
पुस ६२५५९
माघ ७०५०३
फागुन ५२९४४
चैत ६१८१९
बैशाख ७४४२९
क्याटेगोरी : समाचार













प्रतिक्रिया