बुद्ध एयरको भरतपुर-पोखरा उडान बन्द
काठमाडौं । बुद्ध एयरले दुई पर्यटकीय प्रमुख गन्तव्य चितवनको भरतपुरदेखि कास्कीको पोखरासम्म गर्दै आएको उडान बन्द गरेको छ । विगत एक महिनादेखि भरतपुर पोखराको उडान रोकिएको हो ।
पोखरा र भरतपुर आउने जाने यात्रुको संख्या ज्यादै न्यून हुनु, भाडा पनि बढ्नु, पोखरा–मुग्लिन सडकखण्ड राम्रो बन्नु जस्ता कारणले उडान रोक्नु परेको जनाइएको छ ।
पोखरा जाने वा चितवन आउने ग्रुपहरु भएमा उडान सक्ने गरी हाललाई सेवा रोकिएको जनाइएको छ । चितवन र पोखराका पर्यटन तथा होटल व्यवसायीहरुको विशेष अनुरोधमा बुद्धले २०७४ भदौ ३० गतेदेखि भरतपुर पोखरा उडान गरेको थियो । बुद्धको जहाज कहिले भरतपुर आएर पोखरा त कहिले पोखराबाट भरतपुर आउने गरेको थियो ।
यसअघि, मुग्लिन नारायणगढ र आँबुखैरेनी पोखरा सडक विस्तारका कारणले भरतपुर–पोखरा आउन–जान असहज भएका बेला बुद्धले भरतपुरदेखि पोखरासम्म उडान गरेको थियो । तर, अहिले दुबै सडकखण्ड विस्तार भएकाले धेरैजसो मानिसहरु सडककै बाटो भएर यात्रा गर्न थालेका छन् । भरतपुरबाट पोखरा निजी सवारीमा साढे २ घण्टामा र सार्वजनिक सवारीमा ३ घण्टामा पुग्न सकिने भएको छ ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया