Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

एकता नटुंगिदै विभाजनको संघारमा नेपाली कम्युनिस्ट पार्टी


यतिबेला नेपाली कम्युनिस्ट पार्टी आन्तरिक किचलोमा फस्दै गएको छ । विवादकै कारण गत चैत २३ देखि सुरु भएको पार्टीको हाइकमान्ड अर्थात् केन्द्रीय कार्यसमितिको बैठक अझै टुंगिन सकेको छैन । पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बसेको बैठकमा निर्वाचनको बृहत् समीक्षा, पार्टी एकता टुंग्याउने तथा आगामी रणनीति तय गर्ने कार्यसूची रहे पनि ती विषयले बैठकमा प्रवेश नै पाएका छैनन् । नेताहरूबीच वरियताको विवाद चर्किँदै जाँदा बैठक लम्बिएको छ भने पार्टीभित्र संकट झन् गहिरिएको देखिन्छ । गत फागुन २१ मा भएको निर्वाचनमा नेकपा धेरै न्यून संख्यामा चौथो स्थानमा खुम्चिँदै लज्जास्पद हार व्यहोर्नुपरेको थियो । ठूलो अपेक्षासहित चुनावमा होमिएको पार्टीका लागि यो परिणाम गम्भीर झट्का बनेको छ ।

निर्वाचनको समीक्षा गरी आगामी रणनीति तय गर्नुपर्ने बेला पार्टी झन् विवादमा फस्दै गएको छ । विश्लेषकहरूका अनुसार यो विवाद अन्ततः विभाजनसम्म पुग्ने संकेत देखिएको छ । विभिन्न राजनीतिक शक्तिहरूलाई समेटेर बनेको पार्टीभित्र अहिले आ.आफ्नै स्वार्थ हाबी हुन थालेको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा २२ कम्युनिस्ट घटकलाई मिलाएर पार्टी निर्माण गरिएको भए पनि पछिल्लो समय नेताहरूबीचको शक्ति संघर्षले एकतालाई नै धरापमा पारिरहेको छ । समयमै समीक्षा गरेर अगाडि नबढे विवादले अझ उग्र रूप लिने सम्भावना देखिन्छ ।

पार्टीको केन्द्रीय कार्यसंयोजन समिति ४५ सदस्यीय छ । जसमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल रहेका छन् । सदस्यहरूमा झलनाथ खनाल, वामदेव गौतम, भीम रावल, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, पम्फा भुसाललगायत छन् । एकतामा समेटिएकामा वडा चलाउन सक्ने नेता पनि छैनन् भनेर आलोचना भइरहेको छ । तर, यिनै नेताहरूबीच वरियताको विवाद चर्किएको छ । निर्वाचनमा नराम्ररी पराजित भएको यो पार्टी एकता प्रक्रिया पूरा नहुँदै फुटको संघारमा पुगेको देखिन्छ ।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


ताजा अपडेट