Techie IT
KTM Post
सोमबार, १५ असार, २०८३

श्रम स्वीकृति पाएपछि मात्रै विमानस्थल आउन अध्यागमनको आग्रह


काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूलाई श्रम स्वीकृति प्राप्त भएपछि मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउन आग्रह गरेको छ।

विभागले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा श्रमिक भिसामा विदेश जाने केही नेपालीहरूले वैदेशिक रोजगार विभागमा श्रम स्वीकृतिका लागि आवेदन दिएलगत्तै, स्वीकृति नआउँदै विमानस्थल पुग्ने गरेको उल्लेख गरिएको छ।

अध्यागमनका अनुसार आवेदन मात्र दर्ता भएको तर श्रम स्वीकृति जारी नभएको अवस्थामा श्रमिक भिसावाहक यात्रुलाई प्रस्थान अनुमति दिन नमिल्ने कानुनी व्यवस्था रहेको छ। यस कारण कतिपय श्रमिकहरू विमानस्थलमै समस्यामा पर्ने गरेका छन्।

विभागले वैदेशिक रोजगारीका लागि विदेश जान लागेका नेपाली नागरिकलाई आफ्नो श्रम स्वीकृति जारी भएको सुनिश्चित गरेर मात्र यात्रा तय गर्न अनुरोध गरेको छ। साथै, अनावश्यक झन्झट र असुविधाबाट बच्न श्रम स्वीकृति प्राप्त भइसकेपछि मात्र विमानस्थल आउन आग्रह गरिएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट