नेपाली कम्युनिष्ट पार्टीमा शक्ति बस्नेत वैठकमा जान छाडे, आन्तरिक विवाद चुलिएको हो ?
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीभित्र आन्तरिक विवाद चुलिँदै जाँदा नेता शक्ति बस्नेत पछिल्लो समय निष्क्रिय जस्तै देखिएका छन् । पार्टी बैठकहरूमा समेत अनुपस्थित हुन थालेपछि उनको भूमिकामाथि प्रश्न उठ्न थालेको छ । पार्टी स्रोतका अनुसार वरियताको विवाद र समानुपातिक सांसद चयनमा अन्तिम समयमा गरिएको नाम हेरफेरप्रति असन्तुष्टि जनाउँदै बस्नेत बैठकमा सहभागी हुन छाडेका हुन् । स्रोतका अनुसार बस्नेतकै भेगकी नेतृ तथा अखिलकी पूर्व अध्यक्ष पञ्चा सिंहको नाम हटाएर पूर्व विधायक बलावती शर्माको नाम राखिएपछि उनले असहमति जनाएका थिए । बलावती शर्मा पूर्व मन्त्री तथा हाल प्रत्यक्ष निर्वाचनमा लज्जास्पद पराजय भोगेका देवेन्द्र पौडेलकी पत्नी हुन् । यस घटनाले पार्टीभित्र पारिवारिक प्रभाव र अवसर वितरणबारे बहस चर्किएको छ । पार्टीले बनाएको पछिल्लो मापदण्डमा पहिला सांसद, विधायक नभएको हुनुपर्ने र एकाघरकालाई एक भन्दा बढी उम्मेद्वार बनाउन नमिल्ने विपरीत, प्रचण्डको परिवारपछि देवेन्द्र परिवारलाई यो अवसर प्राप्त थियो ।
जनार्दन शर्माको प्रभावमा रहेकी पञ्चा सिंहलाई सम्मेलनका बेलामा बस्नेतले हेडक्वार्टर पक्षमा ल्याएका थिए । त्यतिबेला पञ्चा, हिमाल शर्मा र हेडक्वार्टरको पक्षको समन्वयको जिम्मा पाएका शक्तिका कारण हेडक्वार्टरको पक्षले अध्यक्षसहित केही महत्वपूर्ण पद जितेको थियो ।
जनार्दन शर्मा पार्टीमा रहँदा अखिलको प्यानलमा जनार्दन पक्ष महासचिवसहित वहुमत जित्दा वर्षमान पुनले अलग्गै प्यानल उठाउँदा नराम्ररी पराजय भोगेका थिए । पछि पुनको हेडक्वार्टरमा प्रभाव बढ्दै जाँदा पञ्चा सिंहको प्रतिनिधिसभाको समानुपातिक सांसदमा एक नम्बरमा रहेको नाम हटाइएको भन्दै उनले सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएकी थिइन् । उनले वर्षमानलाई संकेत गर्दै सामाजिक सञ्जालमा लेखेकी छिन ।
बस्नेतले भने आफू व्यावहारिक कारणले पार्टीको बैठकमा अनुपस्थित भएको दाबी गरेका छन् । उनले वरियता वा समानुपातिक विवादका कारण बैठक बहिष्कार नगरेको बताएका छन् ।
राजनीतिक जीवनतर्फ हेर्दा बस्नेत माओवादी पृष्ठभूमिबाट उदाएका नेता हुन् । उनी पटकपटक मन्त्री बन्ने अवसर पाएका नेतामध्ये एक मानिन्छन् । गृह, स्वास्थ्य, वन तथा ऊर्जा जस्ता प्रभावशाली मन्त्रालयको जिम्मेवारी सम्हालेका बस्नेतले चार पटक मन्त्रीको भूमिका निर्वाह गरिसकेका छन् । २०७० सालको संविधानसभा निर्वाचनमा जाजरकोट–१ बाट विजयी भएका उनी लगातार तीन पटक प्रतिनिधिसभा सदस्य बनेका थिए ।
तर २०८२ सालको आम निर्वाचनमा भने उनको जितको श्रृंखला टुट्यो । उनलाई नेपाली कांग्रेसका खड्क बुढाले पराजित गरे । लामो समय सत्ताको केन्द्रमा रहे पनि बस्नेतले उल्लेखनीय काम गर्न नसकेको आरोप लाग्दै आएको छ । सत्ता र शक्तिको नजिक रहे पनि उनी जनतामाझ प्रभावशाली छवि बनाउन असफल रहेको विश्लेषण गरिन्छ ।
पार्टीभित्र नेतृत्वको निकटताका कारण अवसर पाएको आरोप बस्नेतमाथि लाग्दै आएको छ । माओवादीभित्र उनीभन्दा सक्षम, त्यागी, इमानदार, पुराना नेताहरू हुँदाहुँदै पनि नेतृत्वको आशीर्वादका कारण बस्नेत निरन्तर सत्तामा पुगेको टिप्पणी हुँदै आएको छ ।
हाल माओवादीसहित २१ दल मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीमा भने बस्नेतको भूमिका कमजोर देखिएको छ । आन्तरिक विवाद र असन्तुष्टिका कारण उनी जारी पार्टी बैठकहरूमा पनि सहभागी नहुँदा पार्टीभित्रको शक्ति सन्तुलनमा नयाँ बहस सुरु भएको छ । उनी वैठकमा नजाँदा टेस्टेड भइसकेका उनीहरू जस्ताले बाहिर बसेर नयाँ नेतृत्वलाई अगाडि बढाउन सहजीकरण गर्नुपर्ने माग गरिरहेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार










प्रतिक्रिया