राष्ट्रपति कार्यालयबाट हात्तीका दाह्रा चोरी प्रकरण : ६ जना पक्राउ
काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासमा भित्तामा सजाएर राखिएका दुई थान हात्तीका दाह्रा चोरी भएको घटना सार्वजनिक भएको छ। करिब ९ महिनापछि उक्त चोरी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा शीतल निवासमा तोडफोड र आगजनी भएको थियो। सोही अराजक परिस्थितिको फाइदा उठाउँदै राष्ट्रपति कार्यालयभित्रका सामग्रीहरूसमेत चोरी भएको खुलेको हो। आन्दोलनका बेला प्रदर्शनकारीले राष्ट्रपति बस्ने कुर्सी, तस्बिरहरू लगायत विभिन्न सामग्रीमा समेत क्षति पुर्याएका थिए।
प्रहरीका अनुसार सोही समयमा भित्तामा सजाइएका दुई थान हात्तीका दाह्रा चोरी भएको थियो। अनुसन्धानका क्रममा ती दाह्रा काटेर भाग लगाई आरोपितहरूले आफ्ना घरमा सजाएर राखेको पाइएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार राति नयाँ बसपार्क र मनमैजु क्षेत्रमा विशेष अपरेशन सञ्चालन गर्दै उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूको नाम भने हालसम्म सार्वजनिक गरिएको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया