६६ वर्षमा ३१औँ पटक बढ्यो कर्मचारीको तलब, कसको कति गुणा बढ्यो ?
काठमाडौं । सरकारी कर्मचारीको तलब पछिल्ला ६६ वर्षमा ३१ पटक वृद्धि भएको तथ्य सार्वजनिक भएको छ। विभिन्न समयमा महँगी भत्ता तथा तलबमान पुनःसंरचनामार्फत वृद्धि गरिए पनि आधारभूत तलब स्केल परिवर्तन भएको यो ३१औँ पटक हो।
राष्ट्रिय किताबखाना (निजामती) को तथ्याङ्कअनुसार वि.सं. २०१७ सालमा शाखा अधिकृतको प्रारम्भिक मासिक तलब २७५ रुपैयाँ रहेकोमा आगामी आर्थिक वर्ष २०८३/८४ को साउनदेखि ५२ हजार ८६४ रुपैयाँ पुग्ने भएको छ। यस अवधिमा शाखा अधिकृतको तलब करिब १९२ गुणाले वृद्धि भएको देखिन्छ।
तल्लो तहका कर्मचारीको तलब वृद्धिदर भने अझ उच्च रहेको तथ्याङ्कले देखाएको छ। २०१७ सालमा १२० रुपैयाँ तलब पाउने खरदारको मासिक पारिश्रमिक हाल ३९ हजार ८११ रुपैयाँ पुगेको छ, जुन ३३१ गुणाको वृद्धि हो। त्यस्तै, नायव सुब्बाको तलब पनि २४० गुणाभन्दा बढीले बढेको उल्लेख गरिएको छ।
विशेषगरी पछिल्ला वर्षहरूमा सरकारले तल्लो तहका कर्मचारीको जीवनस्तर सुधार र सामाजिक न्यायलाई प्राथमिकतामा राख्दै आधारभूत तलबमा बढी वृद्धि गरेकाले तल्लो तहमा वृद्धि दर उच्च देखिएको विश्लेषण गरिएको छ।
तलब वृद्धिलाई चक्रवर्ती वार्षिक वृद्धि दर (CAGR) का आधारमा हेर्दा कर्मचारीको पारिश्रमिक औसतमा वार्षिक ७.२ प्रतिशतदेखि ९.१ प्रतिशतसम्म बढेको देखिन्छ। सबैभन्दा बढी खरदारको तलब वार्षिक औसत ९.१७ प्रतिशतले वृद्धि भएको छ भने शाखा अधिकृतको तलब वार्षिक ८.३१ प्रतिशतका दरले बढेको छ।
यद्यपि अर्थविद्हरूका अनुसार तलबको अंकगत वृद्धि ठूलो देखिए पनि सो अवधिमा भएको महँगी, वस्तु तथा सेवाको मूल्यवृद्धि र नेपाली रुपैयाँको अवमूल्यनलाई तुलना गर्दा वास्तविक क्रयशक्ति भने अपेक्षाकृत कमजोर बनेको छ। उनीहरूका अनुसार २०१७ सालमा २७५ रुपैयाँले खरिद गर्न सकिने सुन, जग्गा वा खाद्यान्नको मात्रा अहिले ५२ हजार रुपैयाँभन्दा बढी तलबले समेत धान्न कठिन हुने अवस्था रहेको छ।
कुन पदको तलब कति पुग्यो :
| पद | २०१७ को तलब (रू.) | २०८३ को तलब (रू.) | कुल वृद्धि (गुणा) |
| मुख्यसचिव | ९०० | ९३,४२५ | १०३ |
| सचिव | ९०० | ८७,२१९ | ९७ |
| सहसचिव | ७०० | ६८,७१२ | ९८ |
| उपसचिव | ४५० | ५८,९७२ | १३१ |
| शाखा अधिकृत | २७५ | ५२,८६४ | १९२ |
| नायव सुब्बा | १७५ | ४२,०२३ | २४० |
| खरदार | १२० | ३९,८११ | ३३१ |
क्याटेगोरी : समाचार













प्रतिक्रिया