सिमरा–बर्दिबास रेल ठेक्का रद्द गर्ने तयारी, महालक्ष्मी/हिरा जेभीलाई १५ दिनको अल्टिमेटम
काठमाडौं । सरकारले निर्माणाधीन सिमरा–बर्दिबास रेलमार्ग अन्तर्गतको एक ठेक्का सम्झौता अन्त्य गर्ने प्रक्रिया अघि बढाएको छ। रेल योजना कार्यालय, लालबन्दी (सर्लाही) ले निर्माण व्यवसायी महालक्ष्मी/हिरा एण्ड नमिता जेभीसँग भएको सम्झौता रद्द गर्ने तयारीस्वरूप १५ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो।
आयोजनाका अनुसार रेल विभाग र उक्त निर्माण कम्पनीबीच २०७० मङ्सिर २१ गते सम्झौता भएको थियो। पछि २०७७ मङ्सिर २८ गते आयोजना हस्तान्तरण भएसँगै रेल योजना कार्यालय, लालबन्दीमार्फत कार्यान्वयन भइरहेको छ।
सम्झौताअनुसार सिमरा–बर्दिबास रेल खण्डको चेन ७९+६०० देखि ८०+५०० सम्मको रेल ट्र्याक बेड निर्माण कार्य २०८२ कात्तिक २९ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने थियो। तर पटक–पटक लिखित तथा मौखिक रूपमा ताकेता गरिए पनि निर्माण प्रगति सन्तोषजनक नदेखिएको कार्यालयले जनाएको छ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ तथा सम्बन्धित कानुनी व्यवस्थाअनुसार सम्झौताको शर्त उल्लंघन भएको निष्कर्षसहित ठेक्का सम्झौता अन्त्य गर्ने प्रक्रिया अघि बढाइएको कार्यालयको भनाइ छ।
कार्यालयले निर्माण व्यवसायीलाई सम्झौता किन अन्त्य गर्नु नपर्ने हो भन्ने सम्बन्धमा कुनै मनासिब कारण भए १५ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न आग्रह गरेको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया