तुलसी अधिकारी अदालतमा उपस्थित, थुनछेक आदेश आज आउने सम्भावना
काठमाडौं । “तुलसा कलेक्सन” भनेर चिनिने टिकटकर तुलसी अधिकारीलाई थुनछेक बहसका लागि जिल्ला अदालत ललितपुरमा उपस्थित गराइएको छ। अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छोड्नेबारे आज निर्णय गर्न सक्नेछ।
न्यायाधीश टेकनाथ गौतमको इजलासमा हिजोदेखि थुनछेक बहस सुरु भए पनि नसकिएपछि उनलाई हिरासतमै राखिएको छ। आज सोही इजलासमा बहस निरन्तर हुने छ।
उनलाई सातदोबाटो वृत्तबाट थुनुवा पोशाकमा, हातमा हत्कडीसहित अदालत पुर्याइएको थियो। बयानपछि सरकारी वकिल पक्षले बहस गर्ने र त्यसपछि प्रतिवादी पक्षका कानुन व्यवसायीले आफ्नो तर्क प्रस्तुत गर्ने कार्यक्रम छ।
तुलसी अधिकारीमाथि आपराधिक लाभ (एक्सटर्सन), संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरिएको छ। एक व्यवसायीको जाहेरीका आधारमा दायर मुद्दामा करिब ६ करोड ५२ लाख रुपैयाँ बिगो कायम गरिएको बताइएको छ।
अनुसन्धानका क्रममा करिब २१ करोड रुपैयाँ बराबरको सम्पत्तिबारे पनि छानबिन भइरहेको छ। उनी २०८२ भदौदेखि फरार रहेकी थिइन् भने इन्टरपोलको सहयोगमा थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याइएको हो।
अधिकारीले आफूविरुद्ध लगाइएका आरोप अस्वीकार गर्दै आएकी छन्। अदालतको आजको आदेशपछि उनको कानुनी अवस्था स्पष्ट हुने अपेक्षा गरिएको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया