Techie IT
KTM Post
मंगलबार, १६ असार, २०८३

नेपाली पासपोर्ट ४ स्थानले उक्लियो, सिंगापुर फेरि शीर्षमा


काठमाडौं । विश्वभरका पासपोर्टहरूको शक्ति मापन गर्ने हेन्ली पासपोर्ट इन्डेक्स–२०२६ को नयाँ प्रतिवेदन सार्वजनिक भएको छ। प्रतिवेदनअनुसार नेपाली पासपोर्टले यस वर्ष सुधार गर्दै चार स्थान माथि उक्लिएको छ।

गत वर्ष १०१औं स्थानमा रहेको नेपाल यस वर्ष ९७औं स्थानमा पुगेको छ। नेपालसँगै उत्तर कोरिया पनि ९७औं स्थानमै रहेको छ। दुवै देशका नागरिकले ३५ देशमा भिसाविना प्रवेश पाउने उल्लेख छ।

यस वर्ष पनि सिंगापुर विश्वकै सबैभन्दा शक्तिशाली पासपोर्टको रूपमा पहिलो स्थानमा रहेको छ। सिंगापुरका नागरिकले १९२ देशमा भिसा–फ्री पहुँच पाउनेछन्।

दोस्रो स्थानमा जापान, दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन्। यी देशका पासपोर्टबाट १८७ देशमा भिसाविना यात्रा गर्न सकिन्छ। तेस्रो स्थानमा स्विडेन रहेको छ, जसको भिसा–फ्री स्कोर १८६ छ।

छिमेकी मुलुक भारत ७८औं स्थानमा रहेको छ, जसका नागरिकले ५७ देशमा भिसाविना प्रवेश पाउँछन्। चीन ५६औं स्थानमा उक्लिएको छ, जसको भिसा–फ्री पहुँच ८२ देशसम्म पुगेको छ। पाकिस्तान भने १००औं स्थानमा रहेको छ।

यस वर्षको प्रतिवेदनमा अमेरिका पनि पुनः शीर्ष १० मा फर्किएको छ। १७९ देशमा भिसा–फ्री पहुँचसहित अमेरिका १०औं स्थानमा आइपुगेको हो।

बेलायत पनि सुधार गर्दै छैटौं स्थानमा उक्लिएको छ, जसको भिसा–फ्री स्कोर १८३ पुगेको छ।

सबैभन्दा कमजोर पासपोर्ट अफगानिस्तानको रहेको छ, जुन १०३औं स्थानमा छ। त्यसपछि सिरिया (१०२औं) र इराक (१०१औं) रहेका छन्।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट