घुस लिएको ठहरसहित प्रदेश सांसदलाई चार वर्ष कैद सजाय
काठमाडौं । योजना छनोट र बजेट विनियोजनका क्रममा घुस लिएको ठहर गर्दै विशेष अदालतले मधेश प्रदेशसभा सदस्य सरोजकुमार सिंहलाई चार वर्ष एक महिना कैद सजाय सुनाएको छ। अदालतले उनलाई ३८ लाख ५० हजार रुपैयाँ जरिवाना तथा सो बराबरको रकम जफत गर्ने आदेश पनि दिएको छ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर प्रसाद कोइरालाको इजलासले घुस लेनदेनसम्बन्धी मुद्दामा सिंहलाई दोषी ठहर गर्दै सजाय निर्धारण गरेको हो। विशिष्ट पदमा बसेर कसुर गरेको आधारमा थप एक महिनाको कैद सजाय पनि तोकिएको छ।
अदालतले सिंहबाट असुल गरिने ३८ लाख ५० हजार रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्न र थप १ लाख ५४ हजार रुपैयाँ क्षतिपूर्ति शुल्क समेत भराउन आदेश दिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न उपभोक्ता समितिमार्फत विकास बजेटको एक तिहाइसम्म रकम घुसका रूपमा लिएको आरोपमा अनुसन्धान गर्दै मुद्दा दायर गरेको थियो। अनुसन्धान अनुसार, सिंहको सहजीकरणमा गठन भएका उपभोक्ता समितिहरूको खाताबाट रकम उनको तथा उनका निकट व्यक्तिहरूको खातामा ट्रान्सफर भएको पाइएको थियो।
अख्तियारको दाबी अनुसार, कञ्चनियमाई मन्दिर, कमलामाई मन्दिर, धर्मशाला तथा बर्थिङ सेन्टर निर्माणलगायतका योजनामा विनियोजित बजेटको ठूलो हिस्सा कमिसनका रूपमा निकालिएको देखिएको थियो।
त्यस्तै, २०७४ सालदेखि २०८२ सालसम्म सिंहको खातामा करिब पाँच करोड रुपैयाँ जम्मा भएको र थप शंकास्पद १२ करोड रुपैयाँ बराबरको कारोबारबारे पनि अनुसन्धान जारी रहेको आयोगले जनाएको छ।
अख्तियारले सिंहका स्वकीय सचिव विनोदकुमार लाल कायस्थको घरमा छापा मार्दा बैंक भौचर र नगद लेनदेनका कागजातहरू फेला परेको उल्लेख गरेको छ। अनुसन्धानमा उपभोक्ता समितिका बैंक खाताहरू समेत उनीकै संलग्नतामा खोलिएको र रकम विभिन्न माध्यमबाट निकासा गरिएको खुलेको आयोगको दाबी छ।
विशेष अदालतले यसअघि गत जेठ ४ गते नै उनलाई दोषी ठहर गरेको थियो भने सजाय निर्धारण भने पछिल्ला सुनुवाइपछि गरिएको हो।
क्याटेगोरी : समाचार













प्रतिक्रिया