Techie IT
KTM Post
मंगलबार, १६ असार, २०८३

पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश


काठमाडौं । उच्च अदालत पोखराले पृथ्वीचोकको बसपार्क क्षेत्रमा रहेका घरहरू नभत्काउन अल्पकालीन आदेश दिएको छ। पाँच दशकदेखि विवाद, अतिक्रमण, सट्टापट्टा र राजनीतिक संरक्षणको केन्द्र बन्दै आएको पोखरा बसपार्क क्षेत्रलाई व्यवस्थित बनाउने पोखरा महानगरपालिकाको अभियान निर्णायक मोडमा पुगेको बेला उच्च अदालत पोखराबाट अल्पकालीन अन्तरिम आदेश आएको हो ।

महानगरले जेठ २५ गतेदेखि संरचना हटाउने आन्तरिक तयारी गरिरहेका बेला अदालतले एक जग्गाधनीको निवेदनमा सुनुवाइ गर्दै तत्काल संरचना नभत्काउन आदेश दिएको छ।

बसपार्कभित्रका जग्गाधनी योगेन्द्रदेवी श्रेष्ठ पालिखेले उच्च अदालत पोखरामा रिट निवेदन दर्ता गरेकी थिइन् । न्यायाधीश तेजनारायण सिंह राईको एकल इजलासले जेठ २१ गते जिल्ला प्रशासन कार्यालय कास्कीसहित विपक्षीहरूलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

अदालतले निवेदकको नाममा रहेको पोखरा महानगरपालिका–९ स्थित कित्ता नम्बर ५४ को जग्गामा बनेका घर तथा अन्य भौतिक संरचना तत्काल नभत्काउन र नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । साथै दुवै पक्षलाई छलफलका लागि उपस्थित हुन भनिएको छ ।

उनको उत्प्रेषण परमादेश रिटमाथि बिहीबार सुनुवाइ गर्दै अदालतले अन्तरिम आदेशका लागि दुवै पक्षबिच छलफल आवश्यक देखिएकाले जेठ २६ गतेका लागि पेसी तोकेको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट