Techie IT
KTM Post
शुक्रबार, २२ जेठ, २०८३

१० महिनामै १९ करोडको अचार निर्यात, अस्ट्रेलियालाई उछिन्दै इटाली बन्यो प्रमुख बजार


काठमाडौं । नेपाली परिकारको अभिन्न हिस्सा मानिने अचारको निर्यात चालु आर्थिक वर्षमा उल्लेखनीय रूपमा बढेको छ। भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा नेपालबाट अचार निर्यात परिमाण र आम्दानी दुवैमा उल्लेख्य वृद्धि भएको देखिएको छ।

साउनदेखि वैशाखसम्मको अवधिमा नेपालले ३ लाख ९० हजार ५ सय ८४ किलो अचार विदेश निर्यात गर्दै १९ करोड ६४ लाख ४५ हजार रुपैयाँ बराबरको वैदेशिक मुद्रा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा १ लाख ४२ हजार ३ सय २९ किलो अचार निर्यात हुँदा १२ करोड ५९ लाख ३१ हजार रुपैयाँ आम्दानी भएको थियो।

तथ्यांकअनुसार एक वर्षको अवधिमा अचार निर्यात परिमाण २ लाख ४८ हजार २ सय ५५ किलोले बढेको छ भने आम्दानी ७ करोड ५ लाख रुपैयाँभन्दा बढीले वृद्धि भएको छ। कुल निर्यात परिमाणमा १७४ प्रतिशतभन्दा बढीको वृद्धि भएको विभागले जनाएको छ।

यस वर्ष नेपाली अचारको अन्तर्राष्ट्रिय बजारमा उल्लेखनीय परिवर्तन देखिएको छ। मूल्यका आधारमा इटाली नेपाली अचारको सबैभन्दा ठूलो आयातकर्ता बनेको छ। चालु आवको १० महिनामा इटालीमा ३ करोड ७३ लाख ८७ हजार रुपैयाँ बराबरको ५७ टनभन्दा बढी अचार निर्यात भएको छ। गत वर्ष सोही अवधिमा इटालीतर्फ १ करोड ८३ लाख रुपैयाँ बराबरको मात्र निर्यात भएको थियो।

परिमाणका हिसाबले भने बेलायत अग्रस्थानमा पुगेको छ। बेलायतमा ९५ हजार किलोभन्दा बढी अचार निर्यात हुँदा त्यसको मूल्य ३ करोड २८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष बेलायतमा केवल ८ टन अचार निर्यात भएको थियो।

गत वर्ष नेपाली अचारको सबैभन्दा ठूलो बजार रहेको अस्ट्रेलियामा पनि निर्यात वृद्धि कायम रहेको छ। चालु आवमा अस्ट्रेलियातर्फ ३ करोड ५० लाख रुपैयाँ बराबरको ७३ टन अचार निर्यात भएको छ, जुन गत वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो।

क्यानडा र जापानमा पनि नेपाली अचारको माग बढ्दो क्रममा देखिएको छ। क्यानडामा ३ करोड २६ लाख रुपैयाँभन्दा बढीको अचार निर्यात भएको छ भने जापानतर्फको निर्यात झण्डै ३ करोड रुपैयाँ पुगेको छ।

यद्यपि दक्षिण कोरिया, अमेरिका र बेल्जियममा भने नेपाली अचारको निर्यात घटेको छ। विशेषगरी अमेरिकी बजारमा निर्यात रकम अघिल्लो वर्षको तुलनामा निकै खुम्चिएको देखिएको छ।

यसबीच नेपालले मरिसस र भारतजस्ता नयाँ बजारमा समेत अचार पुर्‍याउन सफल भएको छ। मरिससमा पहिलो पटक अचार निर्यात भएको छ भने भारतमा नमुनाका रूपमा अचार पठाइएको तथ्यांकले देखाएको छ।

समग्रमा केही परम्परागत बजारमा गिरावट आए पनि युरोप तथा उत्तर अमेरिकी देशहरूमा बढ्दो मागका कारण नेपाली अचार निर्यातले नयाँ उचाइ हासिल गरेको देखिन्छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट