मोबाइल नष्ट गरेको घटनाविरुद्ध सिरहामा प्रदर्शन घोषणा, क्षतिपूर्तिको माग
काठमाडौं । एसईई र कक्षा–१२ परीक्षाका क्रममा जफत गरिएका मोबाइल फोन तथा स्मार्टवाच नष्ट गरिएको घटनाविरुद्ध विद्यार्थी संगठनहरूले सिरहामा विरोध प्रदर्शन गर्ने घोषणा गरेका छन्।
संयुक्त विद्यार्थी संगठनको आह्वानमा सोमबार दिउँसो १२ बजे जिल्ला प्रशासन कार्यालय सिरहाको अगाडि प्रदर्शन गरिने भएको हो। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको सूचनामा ‘विद्यार्थीलाई क्षतिपूर्ति दे सरकार’ भन्ने नारासहित सम्पूर्ण विद्यार्थीलाई प्रदर्शनमा सहभागी हुन आग्रह गरिएको छ।
विद्यार्थी संगठनहरूले जफत गरिएका मोबाइल तथा स्मार्टवाचको उचित क्षतिपूर्ति उपलब्ध गराउन, विद्यार्थीमाथिको दमन अन्त्य गर्न र पीडित विद्यार्थीलाई न्याय दिलाउन दबाब सिर्जना गर्ने उद्देश्यले आन्दोलन गर्न लागिएको बताएका छन्। अनेरास्ववियु मधेश प्रदेश संयोजक सतिशचन्द्र सिंहका अनुसार प्रदर्शनमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराई विद्यार्थीका माग सम्बोधन गराउन प्रयास गरिनेछ।
जिल्ला प्रशासन कार्यालय सिरहाले गत चैतमा सम्पन्न एसईई र कक्षा–१२ परीक्षाका क्रममा बरामद गरिएका करिब ५०० मोबाइल फोन तथा स्मार्टवाच हालै नष्ट गरेको थियो। प्रशासनका अनुसार परीक्षाको मर्यादा कायम राख्न र भविष्यमा यस्ता उपकरणको दुरुपयोग रोक्न उक्त कदम चालिएको हो।
प्रशासनले सातवटा आईफोन, ४८९ वटा विभिन्न कम्पनीका एन्ड्रोइड मोबाइल र पाँचवटा स्मार्टवाच बरामद गरेको जनाएको छ। ती उपकरणहरूको अनुमानित बजार मूल्य एक करोड रुपैयाँभन्दा बढी रहेको बताइएको छ।
मोबाइल व्यवस्थापनका लागि शिक्षा विकास तथा समन्वय इकाइ सिरहाका परीक्षा शाखा अधिकृत राजदेव यादवको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरिएको थियो। समितिमा जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिहरू सहभागी थिए।
उपसमितिले बरामद उपकरणहरू जिल्ला प्रहरी कार्यालय परिसरमा २४ घण्टा पानीमा डुबाएर राखेपछि पुनः प्रयोग गर्न नसकिने अवस्थामा पुर्याई फुटाएर नष्ट गरेको जनाएको छ। उपसमिति संयोजक यादवका अनुसार मोबाइलहरू पुनः प्रयोग हुन नदिन यस्तो निर्णय गरिएको थियो।
यद्यपि प्रशासनको उक्त कदमप्रति अभिभावक, कानुन व्यवसायी तथा विभिन्न विद्यार्थी संगठनहरूले गम्भीर आपत्ति जनाएका छन्। उनीहरूले मोबाइल नष्ट गर्ने निर्णयलाई अनुचित ठहर गर्दै पीडित विद्यार्थीलाई क्षतिपूर्ति र न्याय उपलब्ध गराउन माग गरेका छन्।
क्याटेगोरी : समाचार













प्रतिक्रिया