Techie IT
KTM Post
मंगलबार, १६ असार, २०८३

सिस्नेरी पहिरोमा ६ खेलाडीको मृत्यु प्रकरण : छानबिन समिति गठन, २१ दिनमा प्रतिवेदन बुझाउने


काठमाडौं । मकवानपुरको सिस्नेरीमा २०८१ असोजमा गएको पहिरोमा ६ जना किशोर खेलाडीको मृत्यु भएको घटनाबारे छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले समिति गठन गरेको छ।

राष्ट्रिय खेलकुद परिषद् ले खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रका प्रमुख मधुसुधन बस्नेतको संयोजकत्वमा ५ सदस्यीय छानबिन उपसमिति गठन गरेको हो। समितिमा प्रशासन, कानुन, प्रतियोगिता तथा योजना विभागका प्रतिनिधि तथा शिक्षा तथा खेलकुद मन्त्रालयका एक कानुनी अधिकृत सदस्य रहेका छन्।

समितिलाई घटनाको सम्पूर्ण तथ्य पत्ता लगाई २१ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ। सोमबारदेखि औपचारिक रूपमा काम सुरु गर्ने तयारी रहेको जनाइएको छ।

गत २०८१ असोज १२ गते मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित वात्सल्यदेवी विद्यालयमा रहेको एन्फा सिस्नेरी एकेडेमीमा पहिरो जाँदा ६ जना किशोर खेलाडीको मृत्यु भएको थियो।

मृत्यु हुनेमा आदित्य बलम्पाखी, विकल रेग्मी, प्रियान्स आचार्य, दिवस बानियाँ, अनुपम घलान र साइमल योन्जन रहेका छन्।

घटनापछि अभिभावकहरूले व्यवस्थापकीय कमजोरीका कारण दुर्घटना भएको आरोप लगाउँदै आएका छन्। उनीहरूको निवेदनपछि शिक्षा तथा खेलकुद मन्त्रालयले राखेपलाई छानबिनका लागि निर्देशन दिएको थियो।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट