स्पेस एक्सको हालसम्मकै ठूलो आईपीओ खुल्दै, नेपालीले सेयर किन्न पाउँछन् कि पाउँदैनन् ?
काठमाडौं । विश्व बजारमा स्पेस एक्सको सबैभन्दा ठूलो आईपीओ खुल्दैछ । स्पेस एक्स विश्वको सबैभन्दा ठूलो निजी अन्तरिक्ष कम्पनी हो । जसको संस्थापक इलन मस्क हुन् । कम्पनीले करिब ७५ अर्ब अमेरिकी डलरसम्म पूँजी उठाउन सक्ने अनुमान गरिएको छ भने यसको मूल्याङ्कन १.५ देखि १.८ ट्रिलियन डलरसम्म पुग्न सक्ने आँकलन पनि गरिएको छ ।
इलन मस्कद्वारा स्थापित स्पेसएक्सले रकेट प्रक्षेपण, स्टारलिङ्क स्याटेलाइट इन्टरनेट सेवा तथा आगामी चन्द्रमा र मंगल मिसनजस्ता परियोजनाका कारण विश्वकै सबैभन्दा मूल्यवान निजी कम्पनीमध्ये एकका रूपमा स्थान बनाएको छ । पुनः प्रयोग गर्न मिल्ने रकेट प्रविधिका कारण पनि कम्पनीले अन्तरिक्ष उद्योगमा नयाँ मानक स्थापित गरेको दाबी गरिन्छ ।
रिपोर्टहरू अनुसार, आईपीओ निष्कासनका लागि बुक बिल्डिङ विधि र सेक्युरिटिज कम्पनीमार्फत प्रक्रिया अघि बढाइने उल्लेख छ । प्रति सेयर मूल्य करिब १३५ अमेरिकी डलर रहने अनुमानसमेत सार्वजनिक भएको छ ।
तर, स्पेसएक्सको आईपीओबारे आएको यो विवरण औपचारिक रूपमा पुष्टि भएको भने छैन, बजारमा विभिन्न अनुमान र चर्चाका रूपमा मात्र यसलाई लिइएको छ ।
नेपाली लगानीकर्ताले किन्न पाउँछन्?
सैद्धान्तिक रूपमा स्पेसएक्सको सेयर अमेरिकी बजार (जस्तै नास्डाक) मा सूचीकरण भएमा अन्तर्राष्ट्रिय ब्रोकरेज प्लेटफर्ममार्फत खरिद गर्न सकिने सम्भावना रहन्छ । तर नेपालभित्रबाट प्रत्यक्ष रूपमा विदेशी सेयर बजारमा लगानी गर्न पाउने स्पष्ट नीतिगत व्यवस्था नभएकाले नेपाली लगानीकर्ताका लागि यो अवसर सीमित हुने देखिन्छ ।
विदेशमा बसोबास गर्ने नेपालीहरूले भने सम्बन्धित देशका नियमअनुसार यस्ता आईपीओ वा सेयर बजारमा लगानी गर्न सक्ने व्यवस्था रहन्छ ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया