रास्वपा बागमती प्रदेश अधिवेशनः निर्वाचन कार्यतालिका सार्वजनिक, नेतृत्व चयनको औपचारिक प्रक्रिया सुरु
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश अधिवेशन–२०८२ अन्तर्गत निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै नेतृत्व चयनको औपचारिक प्रक्रिया सुरु गरेको छ।
सार्वजनिक कार्यतालिका अनुसार मतदाता नामावली प्रकाशनदेखि उम्मेदवारी दर्ता, दाबी–विरोध, अन्तिम नामावली प्रकाशन, चुनाव चिह्न वितरण तथा मतदानसम्मका सम्पूर्ण कार्यक्रम निश्चित समयावधिभित्र सम्पन्न गरिनेछन्।
निर्वाचन समितिले अधिवेशनलाई निष्पक्ष, पारदर्शी र व्यवस्थित बनाउन आवश्यक तयारी पूरा भएको जनाएको छ। समितिका अनुसार निर्वाचन प्रक्रियामा सहभागी हुने प्रतिनिधि तथा उम्मेदवारले तोकिएका मापदण्ड र समयसीमा पालना गर्नुपर्नेछ।
बागमती प्रदेश समितिको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनलाई पार्टीभित्रको लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण चरणका रूपमा हेरिएको छ। प्रदेशस्तरको नेतृत्व चयनले आगामी दिनमा पार्टीको संगठन विस्तार, नीति कार्यान्वयन तथा जनपरिचालनमा प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा गरिएको छ।
पछिल्लो समय संगठन निर्माणमा सक्रिय देखिएको रास्वपाले आन्तरिक लोकतन्त्रलाई संस्थागत गर्दै नेतृत्व छनोट प्रक्रियालाई प्रतिस्पर्धात्मक र सहभागितामूलक बनाउने प्रयास गरिरहेको जनाएको छ। यही सन्दर्भमा बागमती प्रदेश अधिवेशनलाई पार्टीको संगठनात्मक भविष्यसँग जोडेर हेरिएको छ।
निर्वाचन समितिले मतदान सम्पन्न भएपछि मतगणना गरी नतिजा सार्वजनिक गरिने जानकारी दिएको छ। निर्वाचनको सम्पूर्ण प्रक्रिया नियमावलीअनुसार अघि बढाइने र आवश्यक परे थप निर्णय निर्वाचन समितिबाट गरिने उल्लेख गरिएको छ।
कार्यतालिका सार्वजनिक भएसँगै बागमती प्रदेशमा नेतृत्वका आकांक्षीहरू सक्रिय बन्न थालेका छन् भने अधिवेशन केन्द्रित राजनीतिक तथा संगठनात्मक गतिविधि पनि बढ्न थालेको देखिएको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया