Techie IT
KTM Post
शनिबार, २० असार, २०८३

लुम्बिनी केबलकारमा तीन वर्षमै पाँच लाखभन्दा बढी पर्यटक


काठमाडौं । बुटवल र पाल्पाको बसन्तपुर डाँडालाई जोड्ने लुम्बिनी केबलकारले सञ्चालनको तीन वर्षमा पाँच लाखभन्दा बढी पर्यटकलाई सेवा दिएको जनाएको छ। २०८० जेठ १५ गतेदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको केबलकारको औपचारिक उद्घाटन भने २०८० जेठ २५ गते गरिएको थियो।

केबलकार व्यवस्थापनका अनुसार हालसम्म यात्रा गर्ने पर्यटकमध्ये झण्डै आधा भारतीय नागरिक रहेका छन्। डेढ अर्ब रुपैयाँभन्दा बढी लगानीमा निर्माण भएको केबलकारले पर्यटन प्रवर्द्धनसँगै धार्मिक तथा मनोरञ्जनात्मक गतिविधिलाई समेत टेवा पुर्‍याएको छ।

केबलकारको माथिल्लो स्टेशन बसन्तपुरमा एक हजार क्षमताको बैंक्वेट हलसहित करिब साढे तीन अर्ब रुपैयाँ लगानीमा पाँचतारे होटल निर्माणको प्रक्रिया अगाडि बढाइएको छ। विशेषगरी भारतको उत्तर प्रदेशबाट आउने पर्यटकलाई लक्षित गर्दै होटल निर्माणको योजना अघि सारिएको जनाइएको छ।

व्यवस्थापनका अनुसार हालको पर्यटक आगमनले सञ्चालन खर्च पूर्ण रूपमा धान्न नसकेकाले भारतीय पर्यटकको संख्या बढाउने उद्देश्यसहित आगामी तीन वर्षभित्र होटल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

स्थानीय व्यवसायी र आईएमई समूहको संयुक्त लगानीमा निर्माण भएको केबलकार बुटवलको बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित बसन्तपुरसम्म करिब तीन किलोमिटर लामो छ। यो नेपालको दोस्रो लामो तथा लुम्बिनी प्रदेशको पहिलो केबलकार हो।

केबलकार सञ्चालनसँगै एक समय सुनसान रहने बसन्तपुर डाँडो अहिले प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित भएको छ। स्थानीय लक्ष्मण गौतम, तेजप्रसाद विक र ऋषि भण्डारीलगायतले करिब २६ वर्षअघि बुटवल–बसन्तपुर केबलकारको परिकल्पना गरेका थिए। करिब छ वर्षअघि आईएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा परियोजनाले गति पाएपछि दुई वर्षमै निर्माण सम्पन्न भएको थियो।

बसन्तपुरमा अवस्थित प्रख्यात शक्तिपीठ कामाख्या देवी मन्दिर र सय वर्षभन्दा पुरानो दुर्गा मन्दिरलाई पुनर्निर्माण गरिएको छ। यी धार्मिक स्थलहरू हिन्दू धर्मावलम्बीका लागि प्रमुख आकर्षण बनेका छन्। कामाख्या देवीको दर्शनले मनोकामना पूरा हुने धार्मिक विश्वासका कारण नेपाल र भारतका विभिन्न स्थानबाट भक्तजनहरू आउने गरेका छन्।

पर्यटकलाई आकर्षित गर्न माथिल्लो स्टेशन क्षेत्रमा जिपलाइन, स्काई साइकलिङ, बाल उद्यान, रेष्टुराँ तथा आधुनिक पिङलगायत पूर्वाधार विकास गरिएको छ। बसन्तपुरबाट बुटवल, तिलोत्तमा र भैरहवासम्मको दृश्यावलोकन गर्न सकिने तथा मौसम सफा हुँदा हिमशृंखला समेत देख्न सकिन्छ।

समुद्री सतहबाट करिब एक हजार मिटर उचाइमा रहेको बसन्तपुरको तापक्रम तराई क्षेत्रको तुलनामा ७ देखि १० डिग्री सेल्सियससम्म कम रहने गर्दछ। अनुकूल मौसम, प्रदूषणमुक्त वातावरण र धार्मिक महत्त्वका कारण यो क्षेत्र भारतीय पर्यटकमाझ पनि लोकप्रिय बन्दै गएको छ।

केबलकार परियोजनाले प्रतिटिकट संकलित रकमको दुई प्रतिशत स्थानीय तहलाई प्रदान गर्दै आएको छ, जसअन्तर्गत बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकाले समान रूपमा एक–एक प्रतिशत प्राप्त गर्ने गरेका छन्।

अष्ट्रियाली कम्पनी डोपेलमायरद्वारा निर्मित केबलकारमा २५ वटा गोन्डला सञ्चालनमा छन्। दैनिक करिब ६ हजार यात्रु ओसारपसार गर्न सक्ने क्षमता रहेको केबलकारले हाल झण्डै एक सय जनालाई प्रत्यक्ष रोजगारी दिएको छ।

स्थानीय समुदायलाई लक्षित गर्दै बुटवल–३ र तिनाउ गाउँपालिका–३ का स्थायी बासिन्दालाई टिकट शुल्कमा ५० प्रतिशत छुट तथा सर्वसाधारणलाई जन्मदिनका अवसरमा निःशुल्क यात्रा सुविधा उपलब्ध गराइँदै आएको छ। साथै बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई आकर्षित गर्न लुम्बिनी विकास कोषसँग समेत सहकार्य गरिएको व्यवस्थापनले जनाएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट