Techie IT
KTM Post
आईतबार, २१ असार, २०८३

रास्वपा प्रदेश समिति निर्वाचन : कोशीमा मतगणना हुँदै


विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको मतगणना जारी रहेको छ। बुधबार राति सम्पन्न मतदानमा कुल ९०१ मतदातामध्ये ७०२ जनाले आफ्नो मताधिकार प्रयोग गरेका थिए।

अधिवेशनमार्फत सभापतिसहित ६१ सदस्यीय प्रदेश कार्यसमिति चयन गरिने रास्वपाले जनाएको छ। सभापति पदका लागि सुनसरीकी वर्तमान प्रदेश कार्यवाहक सभापति गोमा तामाङ, मोरङका चन्द्रबहादुर राई, तेह्रथुमका डा. खगेन्द्र कटुवाल तथा झापाका चन्द्रकुमार गौली चुनावी प्रतिस्पर्धामा रहेका छन्।

पार्टी विधानअनुसार सभापतिमा निर्वाचित हुन सदर मतको ५१ प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्ने व्यवस्था छ। कुनै पनि उम्मेदवारले आवश्यक मत प्राप्त गर्न नसके सर्वाधिक मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणको निर्वाचन गरिनेछ।

प्रदेश सदस्य पदका लागि करिब १५६ जनाले उम्मेदवारी दिएका छन्। निर्वाचनबाट ६१ सदस्य चयन भएपछि उनीहरूमध्येबाट उपसभापति, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष तथा प्रवक्तालगायत पदाधिकारी चयन गर्ने व्यवस्था रहेको छ।

यसअघि मोरङको विराटचोकस्थित जेसिज भवनमा जारी अधिवेशनका क्रममा नेतृत्व चयनको विषयलाई लिएर केही समय आन्तरिक विवाद समेत देखिएको थियो। यद्यपि, निर्वाचन प्रक्रिया सहमतिमै अगाडि बढाइएपछि मतदान सम्पन्न भएको हो।

मतगणनाको अन्तिम परिणाम सार्वजनिक भएपछि कोशी प्रदेशमा रास्वपाको नयाँ नेतृत्वको टुंगो लाग्नेछ। प्रदेश अधिवेशनलाई पार्टीको संगठन विस्तार र आगामी राजनीतिक रणनीति तय गर्ने महत्वपूर्ण प्रक्रियाका रूपमा हेरिएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट