Techie IT
KTM Post
शनिबार, २० असार, २०८३

सरकारका १०० दिनको ‘उपलब्धि’ सार्वजनिक


काठमाडौं । वर्तमान सरकारले आफ्ना १०० दिनको ‘उपलब्धि’ आज सार्वजनिक गरेको छ ।

यसमा सार्वजनिक सेवा प्रवाहअन्तर्गत दुई लाख ६ हजार ३३० थान राहदानी हुलाकमार्फत जिल्ला प्रशासन कार्यालयमा पुर्‍याइएको उपलब्धिका रूपमा उल्लेख छ ।

सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले १०० दिनका उपलब्धि सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पाँच हजार ७२८ थान राहदानी हुलाकमार्फत घरघरमै पुर्‍याइएको जानकारी दिए ।

उनले कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको कम्पनीको स्थायी लेखा नम्बर वेबसाइटबाट ‘केमिस’ प्रणालीमार्फत सेवाग्राही आफैँले डाउनलोड गर्न मिल्ने बनाइएको बताए । उनले यसबीचमा झन्डै ३१ लाख सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छापिएको जानकारी दिए ।

“३० लाख ७५ हजार १८१ थान सवारीचालक अनुमतिपत्र छपाइ भएको छ,” मन्त्री पोखरेलले भने, “असार मसान्तसम्म थप २९ लाख छपाइ सम्पन्न गरिनेछ ।”

उनले ३२ जिल्लामा एकद्वार सेवा प्रणालीका निम्ति बजेट व्यवस्थापन भइसकेको बताए ।

“हुलाकमार्फत घरघरमा सवारीचालक अनुमतिपत्र र राहदानी वितरण सुरु गरिसकेका छौँ भने कम्पनी दर्तादेखि प्रमाणपत्र लिनेसम्म अनलाइन प्रणालीमा ल्याउन प्रक्रिया अघि बढाइसकेका छौँ,” उनले भने, “जीआईआोएमएस प्रणाली लागु गरिएको छ, जसले कुन फाइल कार्यालयको कुन शाखामा कुन अवस्थामा छ भन्ने रियलटाइम अलर्ट (जानकारी) दिने प्रणाली लागु भइसकेको छ । अमिन सेवामा अनलाइन अपोइन्टमेन्टको व्यवस्था गरिएको छ ।”

गएको चैत १३ गते गठन भएको यस सरकारले सुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्दै आफ्नो उपलब्धिका रूपमा थुप्रै काम अघि सारेको छ । सरकारको उपलब्धिमा उच्चपदस्थको सम्पत्ति छानबिन आयोग गठन, राजनीतिक नियुक्ति खारेजी, कर्मचारी ट्रेड युनियन र स्ववियु खारेजी, सहकारी समस्या समाधानको पहल जस्ता विषय समेटिएका छन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट