Techie IT
KTM Post
बिहीबार, १८ असार, २०८३

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वमहानिर्देशक सञ्जीव गौतम थुनामा


काठमाडौँ । विशेष अदालतले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले मंगलबार उक्त आदेश जारी गरेको हो। अदालतले मुद्दाको अन्तिम टुंगो नलागेसम्म गौतमलाई थुनामै राखेर अनुसन्धान तथा सुनुवाइ प्रक्रिया अघि बढाउन आदेश दिएको जनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा सम्झौताविपरीत ठेकेदार कम्पनीलाई तीन अर्ब ६२ करोड रुपैयाँभन्दा बढी कर छुट दिई राज्यलाई हानि पुर्‍याएको आरोप लगाउँदै गत वैशाख २४ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

आयोगले तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहित १३ जनाविरुद्ध मुद्दा दायर गरेको छ। मुद्दामा राष्ट्रसेवक कर्मचारी, उच्च पदाधिकारी तथा निर्माण कम्पनीले आपसी मिलेमतोमा भ्रष्टाचार गरेको दाबी गरिएको छ।

अख्तियारले पूर्वमहानिर्देशक गौतमविरुद्ध तीन अर्ब ६२ करोड पाँच लाख २२ हजार १६० रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार निवारण ऐनअनुसार १० देखि १४ वर्षसम्म कैद सजायको माग गरेको छ। उनी उच्च पदस्थ अधिकारी भएकाले थप तीन वर्ष सजायको मागसमेत गरिएको छ।

मुद्दामा तत्कालीन अर्थसचिव शंकरप्रसाद अधिकारी र तत्कालीन पर्यटनसचिव महेश्वर न्यौपानेविरुद्ध पनि समान बिगो कायम गर्दै कैद सजायको माग गरिएको छ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण परियोजनासँग जोडिएको यो मुद्दालाई पछिल्लो समय सार्वजनिक खरिद र ठूला पूर्वाधार आयोजनामा भएको कथित अनियमितताको सबैभन्दा चर्चित प्रकरणमध्ये एकका रूपमा हेरिएको छ। अब विशेष अदालतमा मुद्दाको नियमित सुनुवाइ अगाडि बढ्नेछ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट