परराष्ट्रमन्त्री स्वदेश फिर्ता, चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने औपचारिक चीन भ्रमण सम्पन्न गरी बिहीबार स्वदेश फर्किएका छन्। चीनका विदेशमन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य वाङ यीको निमन्त्रणामा उनी गत आइतबार बेइजिङ पुगेका थिए।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको थियो। भेटमा नेपाल–चीन सम्बन्धका विविध आयाम, पारस्परिक हितका विषय तथा आगामी सहकार्यका क्षेत्रबारे विस्तृत छलफल भएको जनाइएको छ।
दुवै पक्षले आपसी मित्रता, सद्भावना र सहयोगमा आधारित नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपालले ‘एक चीन नीति’प्रतिको आफ्नो अडान दोहोर्याउँदै नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने स्पष्ट पारेको मन्त्रालयले जनाएको छ। त्यसैगरी, चिनियाँ पक्षले नेपालको सार्वभौमिकता, स्वतन्त्रता र भौगोलिक अखण्डताप्रति आफ्नो समर्थन पुनः व्यक्त गरेको छ।
भेटवार्ताका क्रममा पूर्वाधार विकास, सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि, प्रविधि हस्तान्तरण, सूचना प्रविधि, डिजिटलाइजेसन, पर्यटन, रासायनिक मल, पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषणलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो। विगतमा भएका सहमति तथा परियोजनाहरूको शीघ्र कार्यान्वयनमा समेत जोड दिइएको मन्त्रालयले जनाएको छ।
भ्रमणका दौरान मन्त्री खनालले चिनियाँ कम्युनिष्ट पार्टीको अन्तरराष्ट्रिय विभाग प्रमुख लिउ हाइसिङ तथा चिनियाँ जनराजनीतिक परामर्श सम्मेलनका अध्यक्ष वाङ हुनिङसँग पनि भेटवार्ता गरेका थिए। ती भेटहरूमा नेपाल–चीन सम्बन्धलाई अझ मजबुत बनाउने तथा राजनीतिक र आर्थिक सहकार्य विस्तार गर्ने विषयमा विचार आदानप्रदान भएको थियो।
बेइजिङस्थित नेपाली राजदूतावासद्वारा आयोजित लगानी सम्मेलनमा सहभागी हुँदै मन्त्री खनालले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरेका थिए। उनले नेपालमा लगानी तथा व्यवसायमैत्री वातावरण निर्माणका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै आर्थिक सम्भावना र जनसांख्यिकीय लाभबारे जानकारी गराएका थिए।
भ्रमणका क्रममा मन्त्री खनालले चीनमा रहेका नेपाली समुदायका प्रतिनिधिसँग पनि भेटघाट गरेका थिए। उनले सुशासन, आर्थिक विकास र समृद्धिलाई केन्द्रमा राखेर सरकारले अघि बढाएका प्राथमिकताबारे जानकारी गराउँदै राष्ट्र निर्माणमा सक्रिय योगदान दिन आग्रह गरेका थिए।
यसैबीच उनले बेइजिङस्थित नेपाली दूतावासको निरीक्षण गरी नेपाल–चीन सम्बन्धलाई थप प्रभावकारी बनाउने, आर्थिक कूटनीति प्रवर्द्धन गर्ने तथा चीनमा रहेका नेपाली नागरिकलाई गुणस्तरीय सेवा उपलब्ध गराउन दूतावासका अधिकारीहरूलाई निर्देशन दिएका थिए।
भ्रमणका क्रममा मन्त्री खनालले नेपालका राष्ट्रिय विभूति अरनिकोद्वारा डिजाइन गरिएको ऐतिहासिक श्वेत स्तूपको अवलोकन गर्नुका साथै विज्ञान तथा प्रविधिका क्षेत्रमा सहकार्य विस्तारका विषयमा चिनियाँ अनुसन्धान संस्थाका पदाधिकारीहरूसँग छलफल गरेका थिए।
परराष्ट्र मन्त्रालयले भ्रमणबाट नेपाल–चीनबीचको बहुआयामिक सम्बन्ध थप सुदृढ हुनुका साथै आर्थिक, विकास तथा कूटनीतिक सहकार्य विस्तारमा महत्वपूर्ण योगदान पुगेको जनाएको छ।
क्याटेगोरी : राजनीति












प्रतिक्रिया