रास्वपाको प्रथम महाधिवेशनमा गगनदेखि ओलीसम्मलाई निम्ता, प्रमुख दलका शीर्ष नेताहरू चितवनमा जुट्ने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना गर्न लागेको प्रथम राष्ट्रिय महाधिवेशनमा देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई विशेष अतिथिका रूपमा आमन्त्रण गरेको छ।
पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार महाधिवेशनको उद्घाटन सत्रमा सहभागी भई शुभकामना मन्तव्य दिन नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ), जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई निमन्त्रणा पठाइएको छ।
भरतपुर–१० स्थित गेष्टहाउस चौरमा असार ७ गते दिउँसो १ बजेदेखि सुरु हुने उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका नेताहरूको उपस्थिति रहने अपेक्षा गरिएको रास्वपाले जनाएको छ।
महामन्त्री बुर्लाकोटीले अधिकांश नेताहरूलाई औपचारिक निमन्त्रणा पत्र पठाइसकिएको र केही नेताहरूबाट सहभागिताको पुष्टि समेत प्राप्त भइसकेको जानकारी दिए। उनले महाधिवेशनलाई राष्ट्रिय राजनीतिक विमर्शको साझा मञ्चका रूपमा स्थापित गर्ने उद्देश्य रहेको बताए।
उद्घाटन समारोहलाई रास्वपा सभापति रवि लामिछाने तथा वरिष्ठ नेता एवं काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। साथै पार्टीका अन्य केन्द्रीय नेताहरूले पनि महाधिवेशनको उद्देश्य, भावी रणनीति तथा संगठनात्मक योजनाबारे धारणा राख्नेछन्।
रास्वपाको यो महाधिवेशनलाई पार्टी स्थापनापछिको पहिलो राष्ट्रिय सम्मेलनका रूपमा हेरिएको छ। महाधिवेशनमार्फत पार्टीको भावी नेतृत्व चयन, संगठन सुदृढीकरण तथा आगामी राजनीतिक कार्यदिशाबारे महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया