रास्वपाको पहिलो महाधिवेशनलाई प्रधानमन्त्री बालेन शाहले सम्बोधन गर्ने
चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बहुप्रतिक्षित पहिलो राष्ट्रिय महाधिवेशनलाई प्रधानमन्त्री बालेन शाहले सम्बोधन गर्ने भएका छन्।
आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना हुने पार्टीको यस ऐतिहासिक महाधिवेशनमा प्रधानमन्त्री शाह प्रमुख वक्ताका रूपमा सहभागी हुने भएका हुन्। रास्वपाको नेतृत्व तह र प्रधानमन्त्री शाहबीचको निरन्तर संवाद र समन्वयका आधारमा यो कार्यक्रम तय गरिएको बताइएको छ।
पार्टीका उच्च स्रोतका अनुसार, प्रधानमन्त्री शाहले महाधिवेशनलाई सम्बोधन गर्दै मुलुकको वर्तमान राजनीतिक अवस्था, सुशासनको अभियान र आगामी कार्यदिशाका विषयमा आफ्नो धारणा राख्नेछन्। रास्वपाको नेतृत्वमा सरकार गठन भएपछिको यो पहिलो महाधिवेशन भएकाले यसलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ।
असार ७ गतेबाट सुरु हुने यस महाधिवेशनमा देशभरबाट करिब २५ सय प्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ। महाधिवेशनले पार्टीको सांगठनिक सुदृढीकरण र भावी रणनीतिका बारेमा महत्त्वपूर्ण निर्णयहरू लिने अपेक्षा गरिएको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया