Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

रास्वपाको महाधिवेशनमा गगन थापा र केपी ओ‌ली विशिष्ट अतिथि !


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना हुने प्रथम राष्ट्रिय महाधिवेशनका लागि विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरेको छ।

पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार महाधिवेशनको उद्घाटन सत्रमा सहभागी भई शुभकामना मन्तव्य दिन प्रमुख राजनीतिक दलका नेताहरूलाई विशिष्ट अतिथिका रूपमा निमन्त्रणा पठाइएको छ। केही नेताहरूबाट सहभागिताको पुष्टि समेत प्राप्त भइसकेको उनले जानकारी दिए।

भरतपुर–१० स्थित गेष्टहाउस चौरमा असार ७ गते दिउँसो १ बजे सुरु हुने उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

रास्वपाले नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ), जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई विशेष अतिथिका रूपमा आमन्त्रण गरेको जनाएको छ।

महाधिवेशनको उद्घाटन सत्रमा रास्वपा सभापति रवि लामिछानेले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। साथै पार्टीका अन्य नेताहरूले पनि संगठन, नीति तथा भावी राजनीतिक दिशाबारे धारणा राख्ने तयारी गरिएको छ।

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनलाई पार्टीको संगठनात्मक सुदृढीकरण, भावी रणनीति निर्धारण तथा नेतृत्व विकासको महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट