Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

महाधिवेशनको पूर्वसन्ध्यामा मधेशका ४० सांसदलाई सभापति लामिछानेले दिए विशेष जिम्मेवारी


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेश प्रदेशका सांसदहरूसँग छलफल गर्दै क्षेत्रगत समस्या, संगठनात्मक चुनौती तथा अधिवेशन प्रभावित हुनुका कारणबारे विस्तृत प्रतिवेदन पेश गर्न निर्देशन दिएका छन्।

संसदीय दलको कार्यालयमा आयोजित छलफलमा मधेशसँग सम्बन्धित ४० जना सांसद सहभागी थिए। छलफलका क्रममा सभापति लामिछानेले मधेशका जनताको अपेक्षा, विकासका आवश्यकता तथा पार्टी संगठनभित्र देखिएका चुनौतीहरूको अध्ययन गरी लिखित सुझावसहितको प्रतिवेदन बुझाउन आग्रह गरेका हुन्।

सर्लाही–१ बाट निर्वाचित सांसद नितिमा भण्डारी कार्कीका अनुसार सभापति लामिछानेले मधेशलाई पार्टीको प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका थिए। उनले संगठन सुदृढीकरणका लागि देखिएका समस्या पहिचान गरी समाधानका सुझावसहित प्रतिवेदन तयार गर्न निर्देशन दिएको बताइन्।

छलफलका क्रममा सभापति लामिछानेले मधेशका केही जिल्ला तथा प्रदेश समितिहरूको अधिवेशन सम्पन्न हुन नसकेको विषयमा समेत चासो व्यक्त गरेका थिए। राष्ट्रिय महाधिवेशनपछि ती अधिवेशनहरू सम्पन्न गराउन पार्टी नेतृत्वले प्रत्यक्ष पहल गर्ने प्रतिबद्धता समेत उनले जनाएका छन्।

महोत्तरीका सांसद दीपककुमार साहका अनुसार सभापति लामिछानेले प्रत्येक सांसदलाई आफ्नो निर्वाचन क्षेत्र तथा जिल्लामा अधिवेशन हुन नसक्नुका कारण, संगठनात्मक अवस्था र स्थानीय समस्याबारे छुट्टाछुट्टै लिखित प्रतिवेदन बुझाउन निर्देशन दिएका छन्।

रास्वपाले आगामी महाधिवेशनलाई लक्षित गर्दै संगठन विस्तार, क्षेत्रीय सन्तुलन तथा जनअपेक्षाअनुसार पार्टीको रणनीति निर्माणमा विशेष जोड दिइरहेको जनाएको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट