अमेरिका–इरान शान्ति सम्झौतापछि तेलको मूल्य घट्यो
काठमाडौं । अमेरिका र इरानबीच अन्तरिम शान्ति सम्झौतामा हस्ताक्षर भएपछि पश्चिम एसियामा जारी द्वन्द्व अन्त्य हुने आशा बढेको छ। यससँगै बिहीबार एसियाली सेयर बजार स्थिर देखिएका छन् भने अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ।
दुवै देशले युद्धविरामलाई थप ६० दिनका लागि निरन्तरता दिने गरी सम्झौताको आधिकारिक पाठ सार्वजनिक गरेका छन्। गत अप्रिलमा घोषणा गरिएको युद्धविरामलाई लम्ब्याउने उक्त सहमतिले स्थायी शान्ति सम्झौताका लागि वार्ताको बाटो खुला गरेको विश्लेषण गरिएको छ।
यद्यपि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रतिबद्धता पूरा नगरे पुनः सैन्य कारबाही गर्न सकिने चेतावनी दिएका छन्। बजार विश्लेषकहरूका अनुसार क्षेत्रीय भू–राजनीतिक जोखिम पूर्ण रूपमा हटिनसकेको अवस्थामा लगानीकर्ताहरू अझै सतर्क रहेका छन्।
यसबीच, जापानबाहेकको एमएससीआई एसिया–प्रशान्त सूचक स्थिर रहँदा जापानको निक्केई सूचकले पहिलो पटक ७१ हजार अंक पार गर्दै नयाँ कीर्तिमान बनाएको छ। सेमिकन्डक्टर र कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी कम्पनीहरूको सेयरमा आएको वृद्धिले बजारलाई उचाल्न सहयोग गरेको हो। दक्षिण कोरियाली बजार पनि ०.९ प्रतिशतले बढेको छ।
तेल बजारमा भने दबाब देखिएको छ। अमेरिकी कच्चा तेलको मूल्य १.२५ प्रतिशतले घटेर प्रतिब्यारेल ७५.८३ डलरमा झरेको छ भने ब्रेन्ट क्रुड १.४ प्रतिशतले घटेर ७८.४१ डलरमा कारोबार भएको छ।
उता, अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भका अध्यक्ष केभिन वार्सले मुद्रास्फीति नियन्त्रणलाई प्राथमिकता दिनुपर्ने बताएपछि अमेरिकी बजारमा दबाब बढेको छ। ब्याजदर बढ्न सक्ने संकेतले लगानीकर्ताहरू चिन्तित बनेका छन्।
यसको प्रभावस्वरूप डाउ जोन्स ०.९८ प्रतिशतले घटेर ५१ हजार ४९२.५५ अंकमा बन्द भएको छ। एस एन्ड पी ५०० सूचक ७ हजार ४२०.१० अंकमा झर्दा नास्डाक कम्पोजिट पनि २६ हजार २१.६६ अंकमा सीमित भएको छ।
बढ्दो ब्याजदर अपेक्षाका बीच अमेरिकी ट्रेजरी प्रतिफलमा पनि वृद्धि भएको छ। १० वर्षे ट्रेजरी नोटको प्रतिफल ४.४७१ प्रतिशत पुगेको छ भने २ वर्षे प्रतिफल ४.१७५९ प्रतिशतमा पुगेको छ। बैंक अफ इङ्गल्यान्डको बैठकबाट भने ब्याजदर यथावत् रहने अपेक्षा गरिएको छ।
मुद्रा बजारमा अमेरिकी डलर मजबुत बनेको छ। जापानी येनको तुलनामा डलर १६०.६५ येनमा पुगेको छ, जुन सन् २०२४ जुलाईयताकै उच्च स्तर हो। यद्यपि, डलर इन्डेक्स सामान्य रूपमा घटेर १००.३२ मा झरेको छ भने युरो १.१५११ डलरमा पुगेको छ।
तेलको मूल्यमा आएको गिरावटले विश्व अर्थतन्त्रमा मन्दीको जोखिमबारे रहेको चिन्ता केही कम गरेको विश्लेषकहरूको भनाइ छ। विशेषगरी ऊर्जा आयातमा निर्भर युरोपेली मुलुकहरूका लागि यो सकारात्मक संकेत मानिएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४,३०९.७५ डलरमा कारोबार भइरहेको छ। क्रिप्टोकरेन्सीतर्फ बिटक्वाइन ६४,४६४.७५ डलर र एथेरियम १,७५२.५४ डलरमा कारोबार भइरहेको छ।
क्याटेगोरी : अन्तराष्ट्रिय













प्रतिक्रिया