Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

प्रधानमन्त्री कार्यालय र रक्षा मन्त्रालयको बजेटबारे प्रधानमन्त्रीले संसदमा जबाफ नदिने


काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र रक्षा मन्त्रालयको बजेटसम्बन्धी छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन शाहले नदिने भएका छन्।

प्रतिनिधिसभा नियमावलीअनुसार मन्त्रालयगत बजेट छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले नै दिनुपर्ने व्यवस्था भए पनि प्रधानमन्त्री कार्यालय र रक्षा मन्त्रालयको विषयमा भने प्रधानमन्त्री स्वयंले जवाफ दिनुपर्ने प्रावधान रहेको बताइन्छ।

असार १ र २ गते भएको मन्त्रालयगत बजेट छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची भए पनि प्रधानमन्त्री शाहको सट्टा अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिने तयारी गरिएको छ।

यसअघि पनि नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री वाग्लेले जवाफ दिएका थिए।

प्रतिनिधिसभा नियमावलीअनुसार नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्रीको सट्टा अन्य मन्त्रीले जवाफ दिन सक्ने व्यवस्था भए पनि मन्त्रालयगत बजेट छलफलमा सम्बन्धित मन्त्रीकै जवाफ आवश्यक पर्ने प्रचलन रहेको जानकारहरूको भनाइ छ।

प्रधानमन्त्रीको सट्टा अन्य मन्त्रीलाई जवाफ दिने जिम्मेवारी दिइँदा संसदमा प्रतिप्रश्न गर्ने अवसर सीमित हुने भन्दै यसले संसदीय अभ्यासमा प्रभाव पार्ने विषयमा समेत बहस सुरु भएको छ।

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावलीअनुसार असारको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम तोक्नुपर्ने भए पनि हालसम्म त्यसको मिति निर्धारण गरिएको छैन।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट