मन्त्रीहरूले संसदीय मर्यादा र नियमावलीको उल्लंघन गरेको भन्दै एमाले मुख्य सचेतक महरको नियमापत्ति
काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले प्रतिनिधिसभा बैठकमा मन्त्रीहरूले संसदीय मर्यादा र नियमावली उल्लंघन गरेको भन्दै सभामुखको ध्यानाकर्षण गराएका छन्।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद रमेश मल्लले आफ्नो धारणा प्रस्तुत गरिरहेका बेला दुई जना मन्त्री सभामुख र वक्ताबीचको स्थानबाट हिँडेपछि महरले नियमापत्तिमार्फत आपत्ति जनाएका हुन्।
प्रतिनिधिसभा नियमावलीको नियम २० को उपनियम ६ अनुसार सभामुखको आसन र बोलिरहेका सदस्यको बीचबाट आवतजावत गर्न नहुने व्यवस्था रहेको छ। सोही प्रावधान उल्लेख गर्दै महरले मन्त्रीहरूबाट संसदीय अभ्यास र मर्यादाको उल्लंघन भएको बताएका हुन्।
उनले सदनको गरिमा र अनुशासन कायम राख्ने जिम्मेवारी सबै सांसदको भए पनि सरकारका मन्त्रीहरूबाटै पटक–पटक यस्ता घटना दोहोरिनु गम्भीर विषय भएको उल्लेख गरे।
महरले मन्त्रीहरूले जानाजानी नियमको बेवास्ता गरेको आरोप लगाउँदै उक्त व्यवहारप्रति असन्तुष्टि व्यक्त गरे। साथै, भविष्यमा यस्ता घटना दोहोरिन नदिन सभामुखले स्पष्ट रुलिङ जारी गर्नुपर्ने माग पनि गरे।
संसदीय अभ्यासमा सदनको मर्यादा र नियमको पालनालाई लोकतान्त्रिक प्रक्रियाको महत्वपूर्ण पक्ष मानिने भएकाले यस विषयले बैठकमा केही समय चर्चा पाएको थियो।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया