बालेनका लागि राखिएको वरिष्ठ नेता पद अब रास्वपाको पार्टी विधानमै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको विधानमा ‘वरिष्ठ नेता’ पदलाई औपचारिक रूपमा समावेश गर्ने निर्णय गरेको छ। बिहीबार केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले आगामी महाधिवेशनलाई लक्षित गर्दै उक्त पदलाई विधानको हिस्सा बनाउने निर्णय गरेको हो।
रास्वपाले चुनावअघि बालेन शाहसँगको एकता प्रक्रियाका क्रममा सभापतिपछिको दोस्रो वरीयतामा रहने गरी ‘वरिष्ठ नेता’ पद सिर्जना गरेको थियो। हाल सचिवालय बैठकले सो पदलाई स्थायी रूपमा विधानमा समेट्ने निर्णय गरेको छ।
यसअघि सहमहामन्त्री विपिन आचार्यको संयोजकत्वमा गठित विधान संशोधन समितिले बुझाएको प्रतिवेदनमा वरिष्ठ नेता पदको व्यवस्था समावेश गरिएको थिएन। उक्त विषय पार्टी नेतृत्वको निर्णयमा छाडिएको थियो।
सचिवालय बैठकले पार्टीको संगठनात्मक संरचनामा समेत व्यापक हेरफेर गर्ने निर्णय गरेको छ। बैठकले हाल १२१ सदस्यीय रहेको केन्द्रीय समितिको आकार बढाएर १५१ सदस्यीय बनाउने निर्णय गरेको हो। विधान संशोधन समितिले भने १३६ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरेको थियो।
त्यसैगरी पार्टीले पदाधिकारीको संख्या बढाएर १९ सदस्यीय बनाउने निर्णय पनि गरेको छ। नयाँ व्यवस्थाअनुसार एक सभापति, एक वरिष्ठ नेता, तीन उपसभापति, दुई महामन्त्री, पाँच सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष रहनेछन्।
पदाधिकारी संरचनामा महिला सहभागिता सुनिश्चित गर्न उपसभापति, सहमहामन्त्री, सहप्रवक्ता तथा सहकोषाध्यक्ष पदमा कम्तीमा एक–एक जना महिला अनिवार्य रहने व्यवस्था गरिएको छ।
रास्वपाले पहिलो महाधिवेशनमार्फत संगठनलाई थप समावेशी र प्रतिनिधिमूलक बनाउने उद्देश्यका साथ विधान तथा संरचनात्मक संशोधनलाई अघि बढाएको जनाएको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया