एमाले लुम्बिनीका ८३ प्रतिशत बढी नेताहरू अध्यक्षबाट ओली हट्नुपर्ने पक्षमा
काठमाडौं । नेकपा एमालेको पार्टी समीक्षा तथा पुनर्गठन अभियानअन्तर्गत लुम्बिनी प्रदेशमा आयोजित सुझाव संकलन कार्यक्रममा अधिकांश नेताहरूले पार्टी नेतृत्वमा परिवर्तन आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।
कपिलवस्तुमा बिहीबार सम्पन्न सुझाव संकलन कार्यक्रममा सहभागी नेताहरूमध्ये बहुमतले पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरण गर्नुपर्ने मत राखेको स्रोतले जनाएको छ।
सचिव छविलाल विश्वकर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका वरिष्ठ नेताहरू रामबहादुर थापा, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, शंकर पोखरेल, प्रदीप ज्ञवालीलगायत लुम्बिनी प्रदेशका नेताहरू सहभागी थिए।
सुझाव संकलनका लागि १०९ जना नेताहरूलाई आमन्त्रण गरिएकोमा ७४ जना उपस्थित भएका थिए। उपस्थितमध्ये ६८ जनाले आफ्नो धारणा राखेका थिए।
बैठकमा अध्यक्ष ओलीलाई निरन्तरता दिनुपर्ने पक्षमा पाँच जना नेताहरूले मात्र धारणा राखेको बताइएको छ। केही नेताहरूले ओलीले चाहे निरन्तरता दिन सक्ने वा नयाँ नेतृत्वलाई अवसर दिन सक्ने मिश्रित धारणा व्यक्त गरेका थिए।
यद्यपि, अधिकांश वक्ताहरूले पार्टीमा नेतृत्व पुस्तान्तरण र संगठनात्मक रूपान्तरण आवश्यक रहेको भन्दै अध्यक्ष ओलीले जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने धारणा राखेको स्रोतको दाबी छ। सहभागीमध्ये ५७ जनाले नेतृत्व परिवर्तनको पक्षमा विचार राखेको बताइएको छ।
बैठकका क्रममा पार्टी रूपान्तरणसँग सम्बन्धित वैकल्पिक धारणा समेटिएको सामग्रीसमेत वितरण गरिएको जनाइएको छ।
एमालेले देशभर सञ्चालन गरिरहेको समीक्षा तथा पुनर्गठन अभियानअन्तर्गत विभिन्न प्रदेशबाट आएका सुझावलाई आगामी संगठनात्मक तथा नीतिगत निर्णयका आधारका रूपमा लिइने अपेक्षा गरिएको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया