Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

भारतको असहमतिले बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात रोकियो


काठमाडौँ । नेपालले बंगलादेशमा विद्युत् निर्यात विस्तार गर्ने योजना तत्काल कार्यान्वयन गर्न नसकेको छ। भारतले थप २० मेगावाट विद्युत् प्रवाहका लागि सहमति नदिएपछि ६० मेगावाट पुर्‍याउने तयारी रोकिएको हो।

नेपाल विद्युत् प्राधिकरणले सोमबारदेखि बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको छ। भारतीय प्रसारणलाइन हुँदै हुने यो व्यापारमा थप विद्युत् पठाउन भारतको स्वीकृति आवश्यक थियो।

गत मंसिरमा नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको थियो। चालु सिजनबाटै कार्यान्वयन गर्ने भनिएको उक्त योजना भारतको असहमतिका कारण रोकिएको हो।

भारतीय पक्षले भारत–बंगलादेश अन्तरदेशीय प्रसारणलाइनको क्षमता थप विद्युत् पठाउन पर्याप्त नभएको जनाएको छ। उक्त प्रसारणलाइनबाट एक हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्न सकिने भए पनि भारतले बंगलादेशतर्फ आफ्नै विद्युत् निर्यात बढाएकाले थप क्षमता उपलब्ध नभएको बताएको छ।

नेपालबाट बंगलादेशमा विद्युत् निर्यात गर्न नेपाल विद्युत् प्राधिकरण, एनभिभिएन र बंगलादेश पावर डिभलपमेन्ट बोर्डबीच भएको सम्झौता संशोधन गर्नुपर्ने थियो।

प्राधिकरणका प्रवक्ता राजन ढकालले थप २० मेगावाट निर्यातका लागि भारतसँग वार्ता आवश्यक रहेको बताए।

थप २० मेगावाट विद्युत् बिक्री भएको भए पाँच महिनामा नेपालले करिब ४७ लाख अमेरिकी डलर आम्दानी गर्ने थियो। यो रकम बुधबारको विनिमयदरअनुसार करिब ७१ करोड रुपैयाँ बराबर हो।

ऊर्जा सचिवस्तरीय नेपाल–भारत संयुक्त निर्देशक समितिको बैठक लामो समयदेखि हुन नसक्दा विद्युत् व्यापार र प्रसारणसम्बन्धी विषयमा निर्णय प्रक्रिया प्रभावित भएको छ।

नेपालले पछिल्लो समय बर्खामा ठूलो मात्रामा विद्युत् निर्यात गर्दै आएको छ। बर्खायाममा करिब १२ सय मेगावाटसम्म बिजुली निर्यात हुने र त्यसबाट करिब २० अर्ब रुपैयाँ आम्दानी हुने गरेको छ।


क्याटेगोरी : अन्तराष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट