रास्वपा महाधिवेशनमा कांग्रेस, एमाले र नेकपाबाट दोस्रो तहका नेता सहभागी हुने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू प्रत्यक्ष सहभागी नहुने भएका छन्। चितवनको भरतपुरमा असार ७, ८ र ९ गते आयोजना हुने महाधिवेशनका लागि निमन्त्रणा गरिए पनि उनीहरूले प्रतिनिधिमार्फत सहभागिता जनाउने भएका हुन्।
रास्वपाले नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली तथा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई महाधिवेशनमा आमन्त्रण गरेको थियो। तर उनीहरू स्वयं उपस्थित नहुने र पार्टीका प्रतिनिधिलाई पठाउने तयारी गरिएको छ।
कांग्रेसको तर्फबाट उपसभापति पुष्पा भुसाल, एमालेबाट नेता प्रदीप ज्ञवाली तथा नेकपाबाट नेता वर्षमान पुन महाधिवेशनमा सहभागी हुने जनाइएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन भने उद्घाटन समारोहमा स्वयं उपस्थित हुने कार्यक्रम रहेको छ।
यस्तै, प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र जनमत पार्टीका अध्यक्ष सीके राउतले पनि महाधिवेशनमा सहभागिता जनाउने भएका छन्।
रास्वपाले यसपटक विदेशस्थित राजनीतिक दल वा मित्र पार्टीहरूलाई भने भौतिक उपस्थितिका लागि निमन्त्रणा नगरेको जनाएको छ। पार्टीका सहमहामन्त्री विपिन आचार्यका अनुसार विभिन्न देशका दल तथा संस्थालाई शुभकामना आदानप्रदानका लागि पत्राचार गरिएको भए पनि सहभागिताका लागि औपचारिक निमन्त्रणा पठाइएको छैन।
‘शुभेच्छाका लागि पत्राचार गरेका छौँ, तर भौतिक रूपमा उपस्थित हुने गरी विदेशी दलहरूलाई निमन्त्रणा गरेका छैनौँ,’ आचार्यले बताए।
उनका अनुसार केही मित्र राष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थाबाट महाधिवेशनको सफलताको शुभकामना प्राप्त भएको छ। तर, यसपटकको महाधिवेशन पूर्ण रूपमा स्वदेशी सहभागितामै केन्द्रित रहने र विदेशी पाहुनाको उपस्थिति नहुनेछ।
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनलाई पार्टीको संगठनात्मक पुनर्संरचना, नयाँ नेतृत्व चयन तथा आगामी राजनीतिक कार्यदिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया