Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

रास्वपा महाधिवेशनमा ५ दलका अध्यक्ष एउटै मञ्चमा, राजनीतिक शक्ति सन्तुलनको संकेत


काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि पहिलो पटक आज पाँच राजनीतिक दलका अध्यक्ष एउटै मञ्चमा देखिने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनको भरतपुरमा सुरु हुने प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा उनीहरू सहभागी हुन लागेका हुन्।

रास्वपाको महाधिवेशन उद्घाटनमा सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सीके राउत र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी हुने निश्चित भएको छ।

यी सबै नेताहरू रास्वपा महाधिवेशनमा शुभकामना मन्तव्य दिने कार्यक्रमसहित एउटै मञ्चमा देखिन लागेका हुन्। राजनीतिक प्रतिस्पर्धा र विचारगत भिन्नताबीच पनि शीर्ष नेतृत्वबीच संवाद र सहकार्यको संकेतका रूपमा यसलाई हेरिएको छ।

यसैबीच काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाह पनि महाधिवेशन उद्घाटनमा सहभागी हुने कार्यक्रम तय भएको छ। उनी रास्वपाका वरिष्ठ नेताको हैसियतमा महाधिवेशन उद्घाटन गर्ने तयारीमा छन्।

विश्लेषकहरूका अनुसार एउटै मञ्चमा पाँच दलका अध्यक्षहरूको उपस्थिति हालको राजनीतिक परिवेशमा दुर्लभ दृश्य हो। यसले नयाँ र पुराना राजनीतिक शक्तिबीचको सम्बन्ध, प्रतिस्पर्धा र सम्भावित सहकार्यको संकेत दिन सक्ने टिप्पणी गरिएको छ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा २० सिटसहित चौथो दल बनेको रास्वपा पछिल्ला राजनीतिक उतारचढावपछि जनमत विस्तार गर्दै प्रमुख वैकल्पिक शक्तिका रूपमा उदाएको दाबी गर्दै आएको छ।

महाधिवेशनलाई पार्टीले संगठन सुदृढीकरण, नेतृत्व चयन र आगामी राजनीतिक दिशानिर्देशन तय गर्ने निर्णायक अवसरका रूपमा लिएको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट