Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

रास्वपा संस्थापक सांसद दीपक बोहराको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संस्थापक सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहराले पार्टीको आगामी महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।

पार्टी स्थापनादेखिका संघर्ष, उतार–चढाव र वैकल्पिक राजनीतिक यात्रालाई स्मरण गर्दै सांसद बोहराले कार्यकर्ताको भावना र न्यायको पक्षमा आवाज उठाउन आफू केन्द्रीय नेतृत्वमा पुग्न आवश्यक रहेको बताएका छन्।

आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै उनले रास्वपाको सुरुवाती दिनमा सामना गर्नुपरेका चुनौतीहरूको उल्लेख गरेका छन्। पार्टीलाई कतिपयले ‘क्षणिक अभियान’ भन्दै आलोचना गरे पनि आफूहरू निरन्तर अडिग रहेको उनको भनाइ छ।

पार्टी सभापति रवि लामिछाने माथि परेको राजनीतिक दबाब र कठिन परिस्थितिमा आफूहरू मैदान नछाडेको उल्लेख गर्दै उनले न्यायको पक्षमा देशव्यापी रूपमा ४० लाख हस्ताक्षर संकलन अभियानको नेतृत्व गरेको स्मरण गरेका छन्। उक्त अभियान कुनै व्यक्ति विशेषका लागि नभई न्याय र प्रणाली सुधारका लागि भएको उनले स्पष्ट पारेका छन्।

बोहराले चुनाव जितेर संसद र सत्तामा पुग्नु मात्र सफलता नभई जनताको विश्वास जोगाइराख्नु मुख्य जिम्मेवारी भएको बताएका छन्। पार्टीलाई अझ जनमुखी, उत्तरदायी र संगठनात्मक रूपमा सुदृढ बनाउन आफ्नो भूमिका महत्वपूर्ण हुने उनको दाबी छ।

महाधिवेशन प्रतिनिधिहरूलाई समर्थनका लागि अपील गर्दै उनले आफ्नो उम्मेदवारी व्यक्तिगत महत्वाकांक्षाभन्दा पनि संघर्ष र योगदानको सम्मान तथा कार्यकर्ताको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्प भएको बताएका छन्।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन र संगठनात्मक संरचना पुनःनिर्धारण हुने तयारी भइरहेको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट