पूर्वमन्त्री एवं कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काभ्रेपलाञ्चोक, असार ८ — नेपाली कांग्रेसका आदर्शवादी, निष्ठावान् तथा वरिष्ठ नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेल को ८० वर्षको उमेरमा निधन भएको छ।
पछिल्लो समय श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित खरेलको उपचारका क्रममा आइतबार राति काठमाडौंस्थित फ्रन्टलाइन अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
वि.सं. २००३ सालमा काभ्रेपलाञ्चोकको खरेलथोकमा जन्मिएका खरेल नेपाली राजनीतिमा इमानदार, त्यागी र निष्कलंक नेताका रूपमा परिचित थिए। विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका उनले तत्कालीन नेशनल कलेज (हाल शंकरदेव क्याम्पस) मा नेपाल विद्यार्थी संघको एकाइ गठन गरी सचिवको जिम्मेवारी सम्हालेका थिए।
लोकतन्त्र स्थापनाका विभिन्न आन्दोलनमा अग्रणी भूमिका खेलेका खरेलले वि.सं. २०३६ को जनमत सङ्ग्रह, २०४२ को सत्याग्रह, जनआन्दोलन २०४६ तथा जनआन्दोलन २०६२–०६३ मा सक्रिय सहभागिता जनाएका थिए। लोकतन्त्रका लागि संघर्ष गर्ने क्रममा उनले झण्डै नौ वर्ष जेल जीवनसमेत बिताएका थिए।खरेल नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंह लाई आफ्नो राजनीतिक आदर्श मान्थे।
वि.सं. २०५६ सालको आम निर्वाचनमा काभ्रेपलाञ्चोकबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका खरेलले शिक्षा राज्यमन्त्री तथा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीको जिम्मेवारी सम्हालेका थिए। उनको कार्यकालमा प्राथमिक शिक्षा विस्तार तथा विद्यालय पूर्वाधार विकासमा उल्लेखनीय काम भएको मानिन्छ। देशभरका विद्यालयहरूमा भौतिक संरचना निर्माण तथा शिक्षक दरबन्दी विस्तारमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
राजनीतिक नैतिकता र पार्टीप्रतिको निष्ठाका लागि परिचित खरेलले कांग्रेसको आफ्नै कार्यालय नहुँदा लामो समयसम्म आफ्नो निजी निवासलाई पार्टी गतिविधिका लागि उपलब्ध गराएका थिए। संसद् विघटन भएपछि मन्त्री पदमा रहँदै राजीनामा दिएर उनले राजनीतिक संस्कारको उदाहरण प्रस्तुत गरेका थिए।
उनको निधनप्रति नेपाली कांग्रेसका नेता, कार्यकर्ता तथा लोकतन्त्रप्रेमी विभिन्न क्षेत्रका व्यक्तित्वहरूले गहिरो दुःख व्यक्त गरेका छन्। खरेलको निधनले नेपाली कांग्रेस र लोकतान्त्रिक आन्दोलनलाई अपूरणीय क्षति पुगेको प्रतिक्रिया व्यक्त गरिएको छ।स्वर्गीय खरेलका छोरा महेश खरेल हाल पाँचखाल नगरपालिकाका नगरप्रमुख तथा नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. २ का सभापति हुन्।
पारिवारिक स्रोतका अनुसार स्वर्गीय खरेलको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज बिहान ९ बजेदेखि ११ बजेसम्म नेपाली कांग्रेस केन्द्रीय कार्यालय मा राखिनेछ। त्यसपछि दिउँसो १ बजे पशुपति आर्यघाट मा अन्त्येष्टि गरिने कार्यक्रम तय गरिएको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया