Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

प्रधानमन्त्री बालेन शाहद्वारा सौराहास्थित हात्ती प्रजनन केन्द्रको निरीक्षण


चितवन, असार ८  प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले चितवनको सौराहास्थित प्रसिद्ध खोरसोर हात्ती प्रजनन तथा तालिम केन्द्रको अवलोकन गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी हुन चितवन पुगेका प्रधानमन्त्री शाहले परिवारसहित केन्द्रको निरीक्षण गर्दै त्यहाँ सञ्चालित संरक्षण गतिविधिबारे जानकारी लिएका हुन्।हात्ती प्रजनन केन्द्रका प्रमुख मणिपुरण चौधरीका अनुसार प्रधानमन्त्री शाहले केन्द्रको समग्र अवस्था, हात्तीहरूको संरक्षण, व्यवस्थापन तथा प्रजनन कार्यक्रमबारे चासो व्यक्त गर्दै आवश्यक जानकारी लिएका थिए।

जैविक विविधता तथा वन्यजन्तु संरक्षणका दृष्टिले महत्वपूर्ण मानिने खोरसोर हात्ती प्रजनन केन्द्र नेपालकै चर्चित संरक्षण केन्द्रमध्ये एक हो। हाल केन्द्रमा नौ वटा माउ हात्ती र सात वटा हात्तीका छावा रहेका छन्।प्रधानमन्त्री शाहले अवलोकनका क्रममा संरक्षण गतिविधि, वन्यजन्तु व्यवस्थापन तथा पर्यापर्यटन प्रवर्द्धनसँग सम्बन्धित विषयमा समेत चासो व्यक्त गरेको केन्द्र स्रोतले जनाएको छ।

रास्वपाको महाधिवेशनका लागि चितवनमा रहेका प्रधानमन्त्री शाहले राजनीतिक कार्यक्रमको व्यस्तताबीच परिवारसहित चितवनको प्रमुख पर्यटकीय तथा संरक्षण क्षेत्रको भ्रमण गरेका हुन्।खोरसोर हात्ती प्रजनन केन्द्र चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवस्थित छ र आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षणको केन्द्रका रूपमा परिचित छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट