रास्वपाको बन्दसत्र अनिश्चित, प्रतिनिधि थपिएको थपियै
चितवन, असार ८ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम राष्ट्रिय महाधिवेशन निर्धारित समयभन्दा एक दिन लम्बिने भएको छ। आइतबार सुरु भएको महाधिवेशन मंगलबार सम्पन्न गर्ने कार्यतालिका रहे पनि बन्दसत्रमा भएको ढिलाइका कारण कार्यक्रम थप एक दिन लम्बिने भएको हो।
रास्वपाका प्रवक्ता मनीष झाले महाधिवेशनको कार्यतालिकामा परिवर्तन भएको पुष्टि गर्दै प्रतिनिधिहरूको अपेक्षाभन्दा बढी सहभागिताले कार्यक्रम व्यवस्थापनमा चुनौती थपिएको बताए।उनका अनुसार प्रारम्भिक रूपमा करिब तीन हजार प्रतिनिधि सहभागी हुने अनुमान गरिए पनि अहिले प्रतिनिधिको संख्या बढेर करिब चार हजार पाँच सय पुग्ने आकलन गरिएको छ।
“सुरुमा तीन हजार प्रतिनिधि हुनुहोला भन्ने अनुमान थियो। तर अपेक्षाभन्दा धेरै प्रतिनिधिहरू सहभागी हुनुभयो। उत्साहजनक सहभागिताले महाधिवेशनलाई थप व्यापक बनाएको छ,” प्रवक्ता झाले भने।
प्रतिनिधिको संख्या बढेसँगै व्यवस्थापनमा पनि केही समस्या देखिएको उनले स्वीकार गरे। “व्यवस्थापनमा केही कमजोरी भएको छ। त्यसकै कारण कार्यतालिका प्रभावित भएको छ र महाधिवेशन लम्बिन पुगेको हो,” उनले बताए। सोमबार बिहान साढे ८ बजेदेखि सुरु हुने भनिएको बन्दसत्र दिउँसोसम्म पनि सुरु हुन सकेको छैन। प्रतिनिधि व्यवस्थापन, परिचयपत्र वितरण तथा अन्य प्राविधिक तयारीका कारण कार्यक्रम प्रभावित भएको जनाइएको छ।चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा आयोजित बन्दसत्रस्थलमा प्रतिनिधिहरू भने नेतृत्व चयनका लागि मत माग्ने र छलफल गर्ने कार्यमा व्यस्त देखिएका छन्। समाचार तयार पार्दासम्म पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह बन्दसत्रस्थलमा पुगिसकेका थिएनन्।
रास्वपाले पहिलो महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन, संगठनात्मक संरचना सुदृढीकरण तथा आगामी राजनीतिक कार्यदिशा तय गर्ने लक्ष्य लिएको छ। बढ्दो सहभागिता र व्यवस्थापन चुनौतीबीच महाधिवेशनको अवधि लम्बिए पनि पार्टीले यसलाई उत्साहजनक जनसहभागिताको संकेतका रूपमा व्याख्या गरेको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया