Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

फेसबुकमा सन्न्यासको चर्चा, बन्दसत्रमा सरिनको सक्रियता


चितवन, असार ८  कोसी प्रदेश सभापति पदको निर्वाचनमा पराजित भएपछि राजनीति त्यागेको घोषणा गरेकी रास्वपाकी नेतृ गोमा तामाङ सरिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी भएकी छन्।

चितवनमा जारी महाधिवेशनको बन्दसत्रमा प्रतिनिधिका रूपमा सहभागी भएकी सरिनले आफू पार्टीभित्र सक्रिय रहेको स्पष्ट पार्दै राजनीति त्यागेको अभिव्यक्तिको अर्थ फरक ढंगले बुझिएको बताएकी छन्।राजनीति त्यागेको घोषणा गरेपछि महाधिवेशनमा देखिनुको कारणबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले आफूले पार्टीभित्र गुटबन्दी गर्ने र संगठन कमजोर बनाउन खोज्ने प्रवृत्तिविरुद्ध असन्तुष्टि व्यक्त गरेको बताइन्।

“गुटबन्दी गर्ने, पार्टी सकाउन खोज्नेहरूलाई जवाफ दिएको हो। त्यो बेला जवाफ दिन आवश्यक थियो,” उनले भनिन्।सोमबार बिहान महाधिवेशनस्थलमा अन्य प्रतिनिधिहरूसँग सामूहिक तस्वीर खिचाउँदै देखिएकी सरिनले कोसी प्रदेशमा रास्वपाको संगठन निर्माणमा आफ्नो महत्वपूर्ण भूमिका रहेको दाबी गरिन्।

“कोसीमा रास्वपाको जग बसाउने मै हुँ,” उनले आत्मविश्वासका साथ भनिन्।

गत जेठ अन्तिम साता सम्पन्न रास्वपा कोसी प्रदेश समितिको निर्वाचनमा प्रधानमन्त्री बालेन्द्र शाह निकट मानिएका चन्द्रबहादुर राई सभापतिमा निर्वाचित भएका थिए। राईले २८० मत प्राप्त गरी विजयी हुँदा सरिनले १४१ मत पाएकी थिइन्।निर्वाचन परिणाम सार्वजनिक भएपछि सरिनले सामाजिक सञ्जाल फेसबुकमार्फत लामो टिप्पणी लेख्दै राजनीतिबाट संन्यास लिएको घोषणा गरेकी थिइन्। उक्त अभिव्यक्तिले पार्टीभित्र र बाहिर व्यापक चर्चा पाएको थियो।

सरिन यसअघि सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यका लागि रास्वपाको तर्फबाट दुई पटक उम्मेदवारसमेत बनेकी थिइन्। महाधिवेशनमा उनको उपस्थितिलाई पार्टीभित्र पुनः सक्रिय राजनीतिक भूमिकाको संकेतका रूपमा हेरिएको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट