Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

उपराष्ट्रपतिसँग श्रीलंकाली राजदूतको शिष्टाचार भेट


काठमाडौं, असार ८  उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि श्रीलंकाली राजदूत रुवान्थी डेल्पिटियाले सोमबार शिष्टाचार भेटवार्ता गरेकी छन्। लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा दुई देशबीचको सम्बन्धका विविध पक्षबारे छलफल भएको हो।

भेटका क्रममा उपराष्ट्रपति यादवले नेपाल र श्रीलंकाबीच सन् १९५७ जुलाईमा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशबीच मित्रता, सद्भाव, आपसी समझदारी र सहयोगमा आधारित सम्बन्ध निरन्तर रहँदै आएको बताए।उनले नेपाल–श्रीलंका सम्बन्धलाई सांस्कृतिक, धार्मिक तथा जनस्तरको आपसी सम्बन्धले अझ मजबुत बनाएको उल्लेख गरे। विशेषगरी बुद्ध धर्मसँग जोडिएको ऐतिहासिक सम्बन्धले द्विपक्षीय सम्बन्धलाई थप गहिरो बनाएको उनको भनाइ थियो।

“लुम्बिनीलाई विश्व शान्तिको मुहानका रूपमा विकास गर्न श्रीलंका सरकारले पुर्‍याएको योगदानप्रति नेपालले सधैं प्रशंसा गर्दछ,” उपराष्ट्रपति यादवले भने।

उनले श्रीलंकाली तीर्थालुहरूका लागि लुम्बिनी महत्वपूर्ण गन्तव्य भएको उल्लेख गर्दै काठमाडौं–कोलम्बो सिधा उडानले भ्रमणलाई सहज बनाएको बताए। साथै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमार्फत कोलम्बो–भैरहवा सिधा उडान सञ्चालन भएमा लुम्बिनी भ्रमणका लागि श्रीलंकाली पर्यटकलाई थप प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरे।

भेटका अवसरमा श्रीलंकाली राजदूत डेल्पिटियाले नेपाल–श्रीलंका सम्बन्धलाई व्यापार, पर्यटन तथा सांस्कृतिक सहकार्यका क्षेत्रमा अझ विस्तार गर्न सकिने धारणा राखिन्।दुवै पक्षले आपसी सहकार्यलाई थप मजबुत बनाउँदै द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विषयमा सहमति जनाएका छन्।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट