Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

अमेरिका–इरान वार्तामा ठूलो प्रगति, १२ अर्ब डलर फुकुवा गर्ने सहमति


काठमाडौं । स्विट्जरल्यान्डमा सम्पन्न अमेरिका–इरान उच्चस्तरीय वार्तापछि इरानका लागि महत्वपूर्ण कूटनीतिक तथा आर्थिक उपलब्धि हासिल भएको छ। वार्तापछि इरानको करिब १२ अर्ब अमेरिकी डलर बराबरको रोक्का सम्पत्ति फुकुवा गर्ने सहमति भएको छ भने अमेरिकाले इरानी तेल, पेट्रोकेमिकल तथा पेट्रोलियम उत्पादनमाथि लगाइएका केही प्रतिबन्ध अगस्ट २१ सम्मका लागि अस्थायी रूपमा हटाउने घोषणा गरेको छ।

इरानी संसद्का सभामुख मोहम्मद बाघेर घालिबाफले १२ अर्ब डलर बराबरको सम्पत्ति फुकुवा गर्ने सहमति भएको पुष्टि गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्तापछि इरानले हतियार नियन्त्रण तथा आणविक निरीक्षणसम्बन्धी विषयमा सकारात्मक सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्।

यद्यपि इरानले भने आफ्नो आणविक कार्यक्रमबारे कुनै नयाँ प्रतिबद्धता नगरेको स्पष्ट पारेको छ। दुवै पक्षले आगामी ६० दिनभित्र दीर्घकालीन तथा स्थायी सम्झौतामा पुग्ने लक्ष्यसहित रोडम्यापमा सहमति जनाएको बताइएको छ।

यसैबीच, मध्यपूर्वमा तनाव कम हुने संकेत देखिएको छ। लेबननमा इजरायल र हिजबुल्लाहबीचको युद्धविराम अपेक्षाकृत सफल देखिएको जनाइएको छ। लेबननी अधिकारीहरूका अनुसार शनिबार रातिदेखि ठूलो स्तरको सैन्य भिडन्त रोकिएको छ र द्वन्द्वका कारण विस्थापित भएका नागरिकहरू क्रमशः आफ्ना घर फर्किन थालेका छन्।

विश्लेषकहरूले अमेरिका–इरान संवादमा आएको प्रगति र लेबननमा कायम भएको युद्धविरामले मध्यपूर्व क्षेत्रमा स्थायित्व तथा शान्तिको सम्भावना बढाएको टिप्पणी गरेका छन्।


क्याटेगोरी : अन्तराष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट