Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

चीनसँगको व्यापार घाटा भयावह: आयात अर्बौंमा, निर्यात भने ‘नगण्य’


काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापार असन्तुलन चालु आर्थिक वर्षमा झनै बढेको देखिएको छ। भन्सार विभागको चालु आर्थिक वर्षको पहिलो ११ महिनाको तथ्यांकले चीनबाट ठूलो परिमाणमा वस्तु आयात भए पनि निर्यात अत्यन्त न्यून रहेको देखाएको हो।

विभागका अनुसार समीक्षा अवधिमा नेपालले चीनबाट ३ खर्ब ८२ अर्ब रुपैयाँभन्दा बढी मूल्यका वस्तु आयात गरेको छ। तर सोही अवधिमा चीनतर्फ नेपालको निर्यात भने १ अर्ब ५९ करोड रुपैयाँभन्दा बढी मात्रै रहेको छ। यससँगै चीन नेपालको प्रमुख निर्यात गन्तव्य मुलुकहरूको सूचीमा दशौं स्थानमा सीमित भएको छ।तथ्यांकले नेपाल–चीन व्यापार सम्बन्धमा ठूलो व्यापार घाटा कायम रहेको स्पष्ट देखाएको छ। आयात र निर्यातबीचको विशाल अन्तरले नेपालको वैदेशिक व्यापार सन्तुलनमा थप दबाब सिर्जना गरिरहेको छ।

यता, नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार भारतसँगको व्यापारिक कारोबार पनि उच्च रहेको छ। विभागका अनुसार ११ महिनाको अवधिमा नेपालले भारतबाट १० खर्ब ९२ अर्ब रुपैयाँभन्दा बढी मूल्यका वस्तु आयात गरेको छ भने भारततर्फ २ खर्ब २८ अर्ब १३ करोड रुपैयाँ बराबरका वस्तु निर्यात गरेको छ।कुल वैदेशिक व्यापारमा भारतको प्रभुत्व अझै कायम रहेको तथ्यांकले देखाएको छ। कुल आयातमध्ये ५७.७ प्रतिशत हिस्सा भारतबाट भएको छ भने कुल निर्यातमध्ये ८२.१ प्रतिशत हिस्सा भारततर्फ गएको छ।

व्यापार विज्ञहरूका अनुसार चीनसँग बढ्दो व्यापार घाटा कम गर्न नेपाली उत्पादनको प्रतिस्पर्धात्मक क्षमता वृद्धि, निर्यातयोग्य वस्तुको उत्पादन विस्तार तथा चिनियाँ बजारमा नेपाली वस्तुको पहुँच बढाउन विशेष रणनीति आवश्यक छ। साथै, व्यापार सहजीकरण, पूर्वाधार विकास र द्विपक्षीय व्यापार सम्झौताहरूको प्रभावकारी कार्यान्वयनमा पनि ध्यान दिनुपर्ने उनीहरूको सुझाव छ।


क्याटेगोरी : अन्तराष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट