Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

होर्मुज स्ट्रेट पहिलेजस्तो नहुने इरानको संकेत, अमेरिकामाथि अझै अविश्वास


काठमाडौं । इरानका संसद् अध्यक्ष तथा अमेरिका–इरान वार्ताका प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबाफले होर्मुज स्ट्रेट अब युद्धअघिको अवस्थामा नफर्किने बताएका छन्। उनले उक्त रणनीतिक समुद्री मार्गको व्यवस्थापन र निगरानी इरानले आफ्नै ढंगले गर्ने स्पष्ट पारेका छन्।

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार स्विट्जरल्याण्डमा अमेरिकासँग भएको प्राविधिक वार्ताको पहिलो चरणपछि गालिबाफले इरानको पुरानै अडान दोहोर्‍याउँदै अमेरिकामाथि विश्वास नरहेको बताएका हुन्।

उनले भने, “हामीले कहिल्यै पनि अमेरिकामाथि विश्वास गरेका छैनौं, अहिले पनि गर्दैनौं र भविष्यमा पनि सतर्क रहनु आवश्यक छ।”

गालिबाफले होर्मुज स्ट्रेटमा अन्तर्राष्ट्रिय समुद्री नियमहरूको पालना जारी रहने बताए पनि युद्धअघिको व्यवस्थामा फर्किने सम्भावना नरहेको संकेत दिएका छन्।यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आफ्नो परमाणु कार्यक्रमसम्बन्धी अन्तर्राष्ट्रिय निरीक्षणका लागि तयार भएको दाबी गरेका छन्। तर इरानले उक्त दाबी अस्वीकार गर्दै परमाणु मुद्दामा कुनै नयाँ सहमति नभएको स्पष्ट पारेको छ।

यसैबीच, स्विट्जरल्याण्डमा भएको वार्तापछि अमेरिकाले इरानी तेलमाथि लगाइएका केही प्रतिबन्धमा ६० दिनको अस्थायी छुट दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।हालैको वार्तापछि पनि दुवै देशबीच अविश्वास कायम रहेकाले क्षेत्रीय सुरक्षा र ऊर्जा आपूर्तिसँग जोडिएको होर्मुज स्ट्रेटको भविष्यबारे अन्तर्राष्ट्रिय चासो बढेको छ।


क्याटेगोरी : अन्तराष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट