Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

११ महिनामा २ खर्ब ७३ अर्बको पेट्रोलियम आयात, ग्यासको खर्च ९ प्रतिशत घट्यो


काठमाडौं । चालु आर्थिक वर्षको ११ महिना (साउनदेखि जेठसम्म) नेपालले डिजेल, पेट्रोल र एलपी ग्यास गरी कुल २ खर्ब ७३ अर्ब ७ करोड रुपैयाँभन्दा बढीको पेट्रोलियम पदार्थ आयात गरेको छ। भन्सार विभागको तथ्यांकअनुसार अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि र अमेरिकी डलरको भाउ बढेका कारण आयातको परिमाण केही घटे पनि खर्च भने उल्लेख्य रूपमा बढेको देखिएको छ।

समीक्षा अवधिमा सबैभन्दा बढी डिजेल आयात भएको छ। ११ महिनामा १२ लाख ६४ हजार ८ सय ७८ किलोलिटर डिजेल आयात गर्दा १ खर्ब ५२ अर्ब ६७ करोड ९८ लाख रुपैयाँ बाहिरिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा १३ लाख १२ हजार ९ सय ५ किलोलिटर डिजेल आयात हुँदा १ खर्ब १५ अर्ब ५५ करोड रुपैयाँ खर्च भएको थियो। यसले परिमाण घटे पनि लागत उल्लेख्य रूपमा बढेको देखाउँछ।

पेट्रोलतर्फ पनि आयात खर्च बढेको छ। चालु आवको ११ महिनामा ६ लाख ८५ हजार १ सय २७ किलोलिटर पेट्रोल आयात गर्दा ६८ अर्ब १७ करोड ८७ लाख रुपैयाँ खर्च भएको छ। अघिल्लो वर्षको सोही अवधिमा ६ लाख ८१ हजार ४ सय ८४ किलोलिटर पेट्रोल आयात गर्दा ५८ अर्ब ५८ करोड ९० लाख रुपैयाँ बाहिरिएको थियो।

खाना पकाउने एलपी ग्यासको आयात भने खर्चका हिसाबले केही घटेको छ। चालु आवको ११ महिनामा ४७ करोड ५९ लाख ८० हजार किलो ग्यास आयात गर्दा ५२ अर्ब २१ करोड ६६ लाख रुपैयाँ खर्च भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ५७ अर्ब ३६ करोड ६६ लाख रुपैयाँ बराबरको ग्यास आयात गरिएको थियो।

तथ्यांकअनुसार एलपी ग्यास आयातमा खर्च ८.९८ प्रतिशतले घटेको छ। यद्यपि अन्तर्राष्ट्रिय बजारमा जारी युद्ध, भूराजनीतिक तनाव र मूल्य अस्थिरताले नेपालको व्यापार घाटा तथा सोधनान्तर स्थितिमा पेट्रोलियम आयातको दबाब अझै कायम रहेको देखिन्छ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट